काठमाडौं। माघ १८ गते रातीदेखि नै राजाले कुनै कदम चल्दछन् भन्ने गाइँगुइँ थियो। तर सरकारमा रहेका नेताहरु बेखबर थिए। मन्त्रीहरू १९ गते बिहानै देखि झन्डा हल्लाएर औपचारिक कार्यक्रममा उद्घाटनमा ब्यस्त थिए।
२०६१ साल माध १९ गते बिहानै मन्त्रीहरूको कार्यक्रममा सुरक्षा कडा थियो। त्यो बेला पनि मन्त्रीहरूलाई लागि रहेको थियो – हामी भन्दा शक्तिशाली कोही छैन, राजाले केही लछारपाटो लाउँदैनन्। उनीहरूलाई नै थाहा थिएन आफू सरिक हुने औपचारिक कार्यक्रममा किन सुरक्षाकर्मी बढाइयो। उनीहरू आफ्नो सुरक्षामा महत्त्व दिएको भन्दै दङ्ग पर्दै उद्घाटनका लागि रिबन काट्न कैँचीको खोजी गरिरहेका थिए।
मन्त्रीहरू विभिन्न कार्यक्रममा देशभर प्रमुख अतिथि बनेर गजक्क मञ्चमा फुलेर बसेका थिए। तर त्यतिकैमा उनीहरू नजर बन्दमा परे। त्यसपछि मात्र उनीहरूले राजाले ‘कु ’गरेको थाहा पाए जतिखेर ज्ञानेन्द्रले देउवा नेतृत्वको सरकारलाई बर्खास्त गरे।
राजाले कु गर्नका पछाडि त्यस बेला राजा मात्र जिम्मेवार थिएनन् । नेताहरूको कार्यशैली पनि एउटा कारण थियो। ५९ साल देखि स्थानीय निकाय जनप्रतिनिधिबिहीन थियो। सडकमा विरोध र प्रदर्शनका टायर बलिरहन्थे। उपभोग्य सामग्रीको त्यस्तै अभाव थियो। यस्तोबिचमा राजाले सेनाको ब्यकअपमा आफ्नो हातमा सत्ता लिए।
राजाले सत्ता हातमा लिएको दिन सडकमा आगो बल्नु पर्ने हो। तर मुर्दा शान्ति थियो। कोही केही बोलेको सुनिदैन्थ्यो। यी नेताहरूको मनपरी भन्दा त राजाको शासन ठिक भन्दै धेरैले राजाको कदमको स्वागत गरेका थिए।
समय बित्दै गयो। केही महिनापछि राजाको कदमको विरोधको आन्दोलनले सडक तात्दै गयो। राजाले नेतृत्व हातमा लिएपछिको अवस्था झन् भयानक बन्यो। एक किसिमले मौलिक हक निलम्बन भएको अवस्था थियो। सडकमा राजाको अध्यक्षतामा गठित सरकारको विरोध गर्नेहरू लाठी र गोलीको सिकार बन्दै गएका थिए। कमसेकम दलहरूले शासन गर्दा यस्तो अवस्था त थिएन भन्दै जनताहरू सडकमा उर्लन थाले। उनीहरूले सडकमा टिप्पणी गर्दै थिए – तिर्खा लाग्यो भन्दैमा विषय पिउनु नहुने रहेछ। दलहरूले राम्रो नगरेको विकल्प राजा होइन रहेछ।
जनतामा यो महसुस बढ्दै गएपछि राजा ब्याक भएर जनताको नासो जनतालाई नै भनेर आफूले जनताको अधिकार कुल्चिएको स्वीकार गरेका थिए।
त्यो बेला राजा ज्ञानेन्द्रले श्रीलङ्कामा बसेर श्रीमतीको गाडी चलाई रहेका डा तुलसी गिरीलाई बोलाएर मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएका थिए। उनले गरेको पहिलो काम सरकारी स्वामित्वमा रहेको रेडियो नेपालमा पञ्चायतकालीन धुन बजाउनु थियो। यसको सुरुवातै जनताले तिरस्कार गरेको पञ्चायती प्रेतको कुसाइतबाट भएको थियो। अर्थात् पञ्चायतकालीन धुन र तुलसी गिरीको अनुहारले राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा नेपालमा राजा नेपालमा धेरै समय नटिक्ने अनुमान लाएका थिए।
अहिले पञ्चायतकालीन धुन त बज्न सकेको छैन। तर तुलसी गिरीको झल्को दिने गरी राजा फर्काउन नेतृत्व गर्न ८६ वर्षका पंञ्चायकालीन नेता नवराज सुवेदीलाई अगाडि सारिएको छ। तर उनलाई अगाडि सार्ने बित्तिकै राजावादीहरूको कुसाइत परेको छ। अर्थात् राजा फर्काउन आन्दोलन सुरु गरेका साइतमा नै अलच्छिन लागेको छ। किन कि यो कुसाइतमा राजा फर्काउनेहरूबिच नै भाँड भैलो सुर भएको छ।
यसै कारण राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्नका लागि मोर्चा बन्दी भएका राजावादीहरूबिच आन्दोलन सुरु नहुँदै भाँडभैलो मच्चिएको छ । हिजो सोमबार पञ्चायतका पुराना नेता नवराज सुवेदीको नेतृत्वमा घोषणा गरिएको जनआन्दोलन समिति पहिलो दिनमै विवादित बनेको छ । सबै राजावादीलाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने उद्देश्यले सुवेदीको नेतृत्वमा समिति गठन गरिएको थियो । तर त्यसमा कुसाई तले घेरेको छ।
सुवेदीले डाकेको भेलामा तेस्रो जनआन्दोलनको संज्ञा दिँदै
निर्देशक समिति बनाएका छन् । जसले पहिलो र दोस्रो जनआन्दोलन दमन गरे लाज पचाएर भनिरहेका छन – तेस्रो जनआन्दोलन। पहिलो र दोस्रो जनआन्दोलन दबाउने हरू र आन्दोलनकारी शक्तिहरूलाई अराष्ट्रिय तत्त्व भन्नेहरू राजालाई फर्काउन जनआन्दोलनको नाम दिइरहेका छन् । जनआन्दोलनको अर्थ अधिकार जनताको हातमा ल्याउनु हो। तर राजाको हातमा अधिकार दिनेहरू जनआन्दोलनकारी शक्ति हुन सक्छन्?
समिति गठन लगत्तै विवाद उब्जिएको छ । समितिभित्र राखिएका एक सदस्य केशरबहादुर विष्टले भेला लगतै आफू समितिमा नबस्ने बताए । यति मात्र होइन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाको सहभागिता समेत निश्चित छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले त्यसप्रति असहमति प्रकट गरेका छन् ।
‘संयुक्त जनआन्दोलन समिति घोषणा भएको मैले पनि समाचारबाट थाहा पाएको छु, म त्यहाँ उपस्थित छैन । हामीसँग त्यसबारे सरसल्लाह पनि गरिएको छैन,’ लिङदेनले भने, ‘राजसंस्था मान्नेहरूको बैठक गरौँ भन्ने खबर आएपछि प्रतिनिधि पठाएका थियौँ । तर, हाम्रा प्रतिनिधिसँग पनि सरसल्लाह नगरी समिति घोषणा गरिएछ । सोधिएन, एकै चोटि घोषणा भयो।’ आफूलाई थाह नभएको समितिमा बस्ने कुरा नहुने उनले बताए । पूर्व पञ्च सुवेदी नेतृत्वको समितिमा लिङदेनलाई पनि सदस्य राखिएको छ ।
यस्तै हिजै सल्लाहकार समितिमा आफूलाई राखिएको भन्दै डा. राजेश अहिरराजले पत्रकार सम्मेलन गरेरै आपत्ति जनाएका छन् ।
तपाईको बिचार