काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दीपक कुमार गौतमले खानी र पानीलाई प्राथमिकताको आधारमा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
काभे्रको पनौती नगरपालिकाको आयोजना र काभ्रे सेवा समाजको संयोजनमा रोसी खोला जलाधार संरक्षण तथा विपद् न्यूनिकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख गौतमले खानी र पानी सहित प्राकृतिक स्रोत साधनहरु महत्त्वपूर्ण रहेको धारणा राखेका थिए ।
उनले भने प्राथमिकताका आधारमा पानी पहिलो र पानीलाई असर नपर्ने गरि खानीलाई पनि संचालन गर्नु पर्छ । नगरको मुख्य आमदानीको स्रोत खानी भएकाले पानीको नाममा खानी बन्द गर्ने चेष्टा गर्नु घातक हुन सक्छ। मानवीय स्वास्थ्य र पर्यावरणलाई ख्याल गर्दै उचित मापदण्डको पालन गरि त्यसबाट राम्रो आयस्रोत वृद्धिमा गर्न सकिने गौतमको तर्क थियो ।
खानीको पक्षमा वकालत गरिरहँदा खानी व्यवसायीसँग मिलेर काम गरे भन्ने आरोप लाग्ने गरेको स्मरण गर्दै गौतमले गट्टा खेलेर राजनीतिमा नआएको र सङ्घर्षको इतिहास आ आफ्नो रहेकोले प्रमाणित हुन नसक्ने आरोप नलगाउन सरोकारवालाहरुलाई चेतावनी समेत दिए ।
प्रमुख गौतमले खानी संचालन गर्ने ठाउँलाई खानी क्षेत्र घोषणा गरी बस्ती स्थानान्तरण गर्ने योजनालाई महत्वकाङ्क्षी बनाउन सुझाव दिए । विदेशमा समुन्द्र माथि ठूला शहर बसाइएको उदाहरण दिँदै उनले मास्टर प्लान गरेर दीर्घकालीन योजना बनाउदा सफल भइने कुरामा जोड दिए ।
योजना नबनाउने र सानो कुरामा पनि डराएर बस्ने प्रवृत्तिले अबको ५० वर्ष पनि अगाडि बढ्न नसक्ने भन्दै गातमले सम्बन्धित निकाएको धारणा प्रष्ट हुनु पर्ने बताए । उनले भने पनौती नगरपालिका हुँदै बग्ने रोशी खोला जलाधार र खानी दुबै प्रकृतिले भरिपूर्ण रहेको छ।
गत असोजमा आएको अविरल वर्षाले पुर्याएको क्षति पश्चात् रोशी खोला खानी कि पानी भन्ने विषयमा चर्चा चल्न थालेको छ । खानी (बालुवा रोडा ,गिट्टी , पानी ) यहाँको पानीले मानवीय र पर्यावरणमा पुर्याएको सकारात्मक पक्षको बहस हुनु स्वभाविक मान्न सकिन्छ । तर पनौती नगरपालिकाले “रोशी खोला जलाधार संरक्षण तथा विपद् न्यूनिकरणका उपाय” लाई विषय बनाएर जलाधार क्षेत्र घोषणा गर्ने पहलकदमी अगाडि सारेको हो ।
तपाईको बिचार