तीनकुनेमा सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ- मेयर बालेन शाह

तीनकुनेमा सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ- मेयर बालेन शाह

619

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् । उनले  तीनकुनेको जग्गाको मुआब्जाका लागि केपी शर्मा ओली नेतृत्व सरकारले कुनै प्रक्रिया अघि नबढाएको बताएका बताए ।

शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव-२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए ।

उनले भने, ५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन । त्यही कारण मुआब्जा प्राप्त भएको छैन । यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ । त्यही पनि केही गरेको छैन । कोही नेताले तपाईंहरुको काम प्रक्रियामा छ, काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनुहोला । कुनै प्रोसेस भएको छैन । केही काम भएको छैन ।

उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए ।

उनले भने, सरकारले तीनकुनेको व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन । अहिलेको दुई तिहाइको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन ।

बालेनको मन्तव्य –

पूजाआजाका सामानका लागि असन, लुगा किन्न न्यूरोड, मेकानिकल सामानका लागि त्रिपुरेश्वरजस्तै कोटेश्वरको फरक विशेषता उजागर गर्नुपर्छ । यस महोत्सवमा नेपालमै बनेका सामग्री पाइयोस् । नेपालमा बनेको सामान धेरै महंगो हुन्छन्, किनभने किन्ने मान्छे धेरै हुँदैनन् । तपाईंहरुले नेपालमा बनेको सामान छैन ? भनेर सोध्नुभयो भने पसलहरु पनि प्रोत्साहित हुन्छन् र सामान सस्तो हुँदै जान्छ ।

महोत्सवका लागि जग्गा उपलब्ध गराइदिनुहुने जग्गाधनीहरुलाई धन्यवाद । पचासौं वर्षदेखि तपाईंहरुको समस्या समाधान भएको छैन । मुआब्जा पाउनुभएको छैन । कहिले कुन सरकार हुँदा मुआब्जा दिन अपोजिसनले मान्छ कि मान्दैन भन्ने गरिन्थ्यो । अर्को सरकार हुँदा बहुमत हुनेले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपाली त दुई तिहाइको सरकार छ, तर केही पनि भएको छैन । कोही नेताले घरमा आएर काम हुँदैछ भनेर आश्वासन दिनुभएको छ भने नपत्याउनुहोला । केही काम भएको छैन । अहिलेसम्म मुआब्जा दिन केही प्रोसेस भको छैन ।

सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो । मुआब्जाको कुनै पनि प्रोसेस भएको छैन । चाँडै होस भन्ने शुभकामना मात्रै दिन सकिन्छ । दुई तिहाइको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै, प्रधानमन्त्री, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत–साधन आफ्नै, सबै आफ्नै । हाम्रो वडा समिति पनि त्यही सरकारको, प्रधानमन्त्री पनि त्यही सरकारको, अर्थमन्त्री पनि त्यही सरकारको ।

अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन । मलाई पनि भन्नुहोला, उहाँहरुलाई पनि भन्नुहोला । यथासिघ्र समाधान होस भन्ने शुभकामना । हाम्रो उमेरभन्दा पनि बढी भयो होला यहाँको जग्गा लुटिएको । के भन्ने अब, यहाँको मान्छेले दुख पाउनुभएको छ । यस्तो घाममा बस्नुभएको छ । स्टलहरु हेर्नुहोला । नेपालमा बनेको सामान छ कि छैन भनेर प्रश्न सोध्नुहोला ।

तपाईको बिचार

सम्बन्धित खबर