काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जित्नै पर्ने खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।
आइतबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गर्यो । विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८।१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
आइतबार काठमाडौंको जितमा पाँचौं नम्बरका ब्याटर प्रतीक श्रेष्ठले ३४ बलमा समान दुई चौका र छक्कासहित ३९ रनको योगदान गरे । त्यस्तै सातौं नम्बरका रसीद खानले १४ रन बनाउँदा तेस्रो नम्बरका ब्याटर जेरार्ड इरास्मसले १२ रन जोडे । यसैगरी तल्लो क्रमका ब्याटर दीपेश कँडेल ११ रनमा अविजित रहँदा ओपनर माइकल लेभिटले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा १९ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै अनिल खरेल, वसीर अहमद र क्रिस सोलको नाममा समान दुई विकेट रह्यो ।
काठमाडौं गुर्खाजविरुद्ध दुई बलमा दुई विकेट लिएका विराटनगर किङ्सका बलर अनिल खरेल, तस्विर सौजन्यः एनपिएल ।
दोस्रो ओभरको दोस्रो बलमा ओपनर स्टेफन इस्किनाजी एक रन बनाउँदै पेभिलियन फर्किए । इस्किनाजीलाई वसीर अहमदले दीपक बोहराबाट क्याच गराए ।
तेस्रो ओभरको पहिलो बलमा काठमाडौंले अर्का ओपनर लेभिटलाई गुमायो । लेभिट कप्तान सन्दीपको बलमा विकेटकिपर एडवार्डबाट क्याच भए । त्यही ओभरको अन्तिम बलमा सन्दीपले इरास्मसलाई दीपक बोहराबाट क्याच गराए ।
चौथो ओभरको तेस्रो बलमा भिम सार्की एक रन बनाउँदै आउट भए । भिम सोलको बलमा लोकशबाट क्याच भए । भिमले मात्र एक रन जोडे । पावरप्लेको अन्तिम ओभरमा डानियल डाउथवेट पनि एक रन बनाउँदै पेभिलियन फर्किए । यसपालि पनि सोल कठमाडौंका लागि खतरा सावित भए । सोलको बलमा डाउथवेट वसीर अहमदबाट क्याच भए । त्यसपछि आएका रसीदले प्रतीकसँग मिलेर ३७ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरे । तर, ११ औं ओभरको तेस्रो बलमा रसीद सन्दीपको बलमा बोल्ड भएपछि काठमाडौंले छैटौं विकेट गुमायो । जतिबेला काठमाडौंलाई खेल जित्न ४२ रनको आवश्यकता थियो ।
रसीदपछि प्रतीक र शंकर राणाले सातौं विकेटको लागि १४ रनको साझेदारी गरे । प्रतीक क्रिजमा जमिसकेका थिए । शंकरले प्रतीकलाई स्ट्राइक रोटेट गरिरहेका थिए । तर, १४औं ओभरमा विराटनगरका लागि अनिलले दुई बलमा दुई विकेट लिएर खेलको रुपनै बदलिदिए । सुरुमा प्रतीक दीपकबाट क्याच भए, लगत्तैलको बलमा कप्तान करण केसी डक आउट हुन पुगे ।
काठमाडौंले १५.५ ओभरमा एक सय रन पूरा गर्यो । अब काठमाडौंलाई जितका लागि १८ रनको आवश्यकता थियो । दुई रनपछि विराटनगरले नवौं विकेटको रुपमा साहव आलमलाई आउट गर्यो । आलम पेभिलियन फर्किएसँगै काठमाडौं हारबाट एक विकेट मात्र टाढा रह्यो । तर, १७औं र १८औं ओभरमा दीपेशले समान एक छक्का र चौकासहित काठमाडौंलाई रोमाञ्चक जित दिलाए । दुई रन बाँकी रहेको अवस्थामा दीपेशले चौका प्रहार गर्दै काठमाडौंलाई महत्वपूर्ण दुई अंक दिलाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर ११७ रनको योगफलत तयार पारेको थियो ।
विराटनगरका लागि सातौं नम्बरका ब्याटर राजेश पुलामी मगरले २१ बलमा समान एक चौका र छक्कासहित २५ रन बनाए । त्यस्तै ओपनर दीपक बोहराले २४ बलमा दुई चौकासहित सर्वाधिक २० रन जोड्दा चौथो नम्बरका ब्याटर स्कट एडवार्डले १५ र पाँचौं नम्बरका वसीर अहमदले १३ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याटर निकोलनस किर्टोनले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौं गुर्खाजविरुद्ध दुई बलमा विकेट लिएपछि खुसियाली मनाउँदै विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, तस्विर सौजन्यः एनपिएल ।
विराटनगरलाई कम रनमा रोक्न जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिँदै सर्वाधिक चार विकेट लिए । त्यस्तै दीपेश कँडेलले दुई विकेट लिँदा साहव आलम, करण केसी र डानियल डाउथवेटको नाममा एक विकेट रह्यो ।
काठमाडौंले तेस्रो ओभरको चौथो बलमा पहिलो विकेट लिएको थियो । विराटनगरका ओपनर लोकेश बम आठ रन बनाउन नपाउँदै डाउथवेटको बलमा एलबिडब्ल्युको शिकार बने । छैटौं ओभरको दोस्रो बलमा निकोलस पेभिलियन फर्किए । उनी रसीद खानको ओभरमा प्रतीक श्रेष्ठबाट रन आउट भए ।
विराटनगरले तेस्रो विकेटको रुपमा ओपनर दीपकलाई गुमायो । नवौं ओभरको अन्तिम बलमा दीपक कँडेल एलबिडब्ल्युको शिकार बने । स्कोरबार्डमा एक रन पनि जोडिन नपाउँदै विराटनगरले अर्को विकेट गुमायो । १०औं ओभरको दोस्रो बलमा एडवार्ड पेभिलियन फर्किए । एडवार्ड इरास्मसको बलमा बोल्ड भए ।
१३औं ओभरको तेस्रो बलमा इस्मात अलामलाई दीपेशले बोल्ड गरे । अलामले पाँच रनभन्दा बढी बनाउन सकेनन् । दुई ओभरपछि वसीर अहमदलाई साहवले भिम सार्कीबाट क्याच गराए । ९० रन हु्ँदा विराटनगरले सातौं विकेट गुमायो । एक रन बनाएका क्रिस सोल इरास्मसको शिकार बने । इरास्मसको बलमा सोल डाउथवेटबाट क्याच भए । लगत्तैको दोस्रो बलमा सन्दीपले खाता नै खोल्न पाएनन् । सन्दीप पनि डाउथवेटबाट क्याच भए ।
नेट रनरेटमा अगाडि रहँदै सुदूरपश्चिम र चितवन प्लेअफमा
जितसँगै काठमाडौं सात खेलबाट आठ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा छ । शीर्ष चार भित्र रहेका सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्सको समान आठ अंक छ । सात खेलमा १० अंक जोडेको जनकपुरले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो ।
दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले नेट रनरेटका आधारमा दुई खेलअगावै दोस्रो चरणमा स्थान बनाएको छ । चितवन पनि नेट रनरेटका आधारमा काठमाडौंभन्दा अगाडि रहँदै दोस्रो चरण्मा पुगेको छ । एक खेल खेल्न बाँकी रहेको कर्णाली पनि अहिले नेट रनरेटमा काठमाडौंभन्दा अगाडि छ । यस्तोमा काठमाडौंको प्लेअफ यात्रा कर्णालीको अन्तिम खेलले निर्धारण गर्नेछ । काठमाडौं प्लेअफमा पुग्ने हो भने कर्णालीले सोमबार सुदूरपश्चिमविरुद्ध फराकिलो अन्तरको हार बेहोर्न आवश्यक छ ।
न्तरको हार बेहोर्न आवश्यक छ ।परीणत गर्ने
तपाईको बिचार