काठमाण्डौ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ । यस अवसरमा विभिन्न कार्यक्रमहरु संयोजन गरीएका छन् ।
अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १७३ रहेको छ । जनसाङ्ख्यिक हिसाबले युवाको जनसङ्ख्या धेरै रहेको छ ।
जनसङ्ख्यासँगै नीति(निर्माण र नेतृत्वमा युवाको सहभागिता बढ्दो छ । सङ्घमा १२ प्रतिशत, प्रदेशसभामा २० प्रतिशत र पालिकामा ४१ प्रतिशत युवाको जनप्रतिनिधिमा सहभागिता रहेको छ । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ ।
राष्ट्रिय युवा नीति २०७२ र ‘युथ भिजन २०२५’ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र पालिकामा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् ।
परिषद्ले सात सय ५३ स्थानीय तहमा नगर(गाउँ परिषद् गर्नुपर्नेमा अहिले कार्यपालिकाद्वारा १६ स्थानीय तहमा मात्रै परिषद् र ६५ वटा स्थानीय तहमा युवा सञ्जाल गठन भएका छन् । प्रदेश स्तरमा लुम्बिनी, बाग्मती र सुदूरपश्चिममा युवा परिषद् गठन गरिएको छ । तर पनि युवाका मुद्दा सम्बोधन हुन सकिरहेका छैनन् ।सरकारले युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ ।
सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्रसङ्घको समन्वयमा पोर्चुगलको राजधानी लिस्बनमा विश्वका एक सय ४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व युवा सम्मेलन भएको थियो । त्यस सम्मेलनले आ–आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता जनाउनाका साथै युवा सशक्तीकरणका पक्षमा ८८ बुँदा लिस्बन घोषणापत्र समेत जारी गरेको थियो ।
त्यसपछि सन् २००० देखि ऐतिहासिक घोषणा भएको अगष्त १२ लाई आधार मान्दै हरेक वर्ष विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालियो ।
तपाईको बिचार