सरकारले पशु कल्याण ऐन ल्याउने तयारी

सरकारले पशु कल्याण ऐन ल्याउने तयारी

865

काठमाडौँ, २६ साउन। सरकारले पशु कल्याण ऐन ल्याउने तयारी गरेको छ।

स्नेहा केयरद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले पशुको कल्याणका कार्यक्रम सहितको विधेयक तयार गरिएकाले छिट्टै सदनमा लैजाने गृहकार्य भईरहेको बताउनुभयो।

सचिव मिश्रले राज्यको नीतिगत क्षेत्रमा पशु कल्याणका विषयहरुलाई समावेश गर्न सरोकारवाला निकायहरुसँग थप समन्वय गरी पशु कल्याणसम्बन्धी मस्यौदा तयार गरिएको उल्लेख गर्नुभयो।
ऐन आएपछि यस क्षेत्रमा रहेका समस्या समाधान साथै पशु कल्याण दिगोपना सुनिश्चित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पूर्व कृषि सचिवद्वय जयमुकुन्द खनाल र योगेन्द्र कार्कीले समाजमा पशु कल्याण तथा मानवता सम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिँदै विद्यार्थीहरुका लागि पशु कल्याण सम्बन्धी पाठ्यक्रम समेत विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका पूर्व अध्यक्ष एवं पूर्व सचिव विमल कुमार निर्मलले पशु कल्याणको माध्यमबाट संचित हुने मलले प्राङ्गारिक मिसनमा सहयोग पु–याउने विचार व्यक्त गर्नुभयो।

स्नेहा केयरका अध्यक्ष स्नेहा श्रेष्ठ र विज्ञ टपेन्द्र बोहराले कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रमा विद्यमान समस्याबारे जानकारी दिँदै कानूनको आवश्यकता औँल्याउनुभयो।

पशु र मानवकाबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उहाँहरुले धर्म तथा संस्कृतिका नाममा पशुलाई यातना दिएर बलि दिने प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

तपाईको बिचार

सम्बन्धित खबर