काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा नजिकैको सडक भासिएको छ। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन्। दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो।
सडक भासिएपछि उक्त खण्डमा रातिदेखि नै आवागमन प्रभावित भएको छ। अहिले उक्त सडक खण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ। यस सडक खण्ड केही दिनअघि पनि भासिएको थियो। भत्किएको खण्ड पुरेर आवागमन सुरू गरिए पनि सडक फेरि भासिन पुगेको स्थानीयले बताएका छन्।
सडक विभागको क्षेत्राधिकारभित्र पर्ने यो बाटो ‘वन वे’ अर्थात् एकतर्फी छ। दरबारमार्गबाट काठमाडौं प्लाजतर्फ जान मात्र पाइन्छ।
काठमाडौंका मेयर बालेनको प्रतिकृया केछ ?
काठमाडौंका मेयर बालेन शाहले सामाजिक संजाल फेसवुकमा भिडियो सहितको स्टाटस राखेर सडक भासिएको बिषयमा प्रतिकृया दिएका छन् । बालेन लेख्छन् :
‘ यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ ।
अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।
यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’
तपाईको बिचार