आज ३० औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइदै

आज ३० औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइदै

1113

काठमाडौँ । आज ३० औं विश्व आदिवासी जनजाति दिवस विविध कार्यक्रम गरी मनाइदै छ । विगतका वर्षमाजस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजाति संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।

२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडी बढाएको हो ।
संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । नेफिनले यो वर्ष “संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर” भन्ने मूल नारा सहित विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको सम्मेलनमा जानकारी दिइएको छ ।

यस वर्ष संयुक्त राष्ट्रसङ्घले स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । सोही सन्दर्भमा नेपालका आदिवासी जनजाति समुदायहरूले साउन २५ गते शुक्रबारका दिन नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीत, सांस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनी मार्ग देखि प्रज्ञा भवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिको भव्य प्रस्तुतिलाई प्रतिविम्ब गर्ने तयारी गरेका छन् ।

झाँकीसहितको र्‍याली ११ बजे भृकुटीमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ । नगर परिक्रमा पछि प्रज्ञा भवनको सभाहलमा मूल समारोह सुरु हुने बताइएको छ । उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरू, पार्टी प्रतिनिधिहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, महासङ्घका पूर्व प्रमुखहरू, विभिन्न आदिवासी जनजाति विशिष्ट व्यक्तित्वहरू, जातीय संस्था र सम्बन्धन सङ्गठनका अध्यक्षलगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति सङ्घ संस्थाबाट हजारौँको उपस्थिति रहने जनाइएको छ ।

३० औँ विश्व आदिवासी दिवसको अवसरमा प्रज्ञा भवनको पछाडि रहेको खुल्ला बगैँचामा आदिवासी जनजातिहरूको विभिन्न मौलिक खानपिनहरू प्रदर्शनी ९फुड फेस्टिभल० तथा विक्री वितरण स्टल पनि राखिने आयोजकले जानकारी दिएको छ । दिवसको अवसरमा नेफिनसँग आबद्ध विभिन्न जातीय संस्था र सम्बन्धन सङ्गठनद्वारा सप्ताहव्यापी विभिन्न कार्यक्रमसमेत गर्दै आएका छन् ।

सन् २०२४ को नारा ‘Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact.
एकान्तवास स्वेच्छिक हुनुपर्दछ र आदिवासी र परिवारहरुको प्रारम्भिक सम्पर्क र एकान्तवासका बेलामा पनि उनीहरुको अधिकारको रक्षाका लागि यो नारा कथिएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर