काठमाण्डौं । आरक्षणविरूद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ छाडेकी छन्।
उनले पदबाट राजिनामा दिएर प्रधानमन्त्री निवास ‘गणभवन’ बाट भागेको बताईएको छ । सोमबार प्रधानमन्त्री हसिनाले सरकारी निवास छाडेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
सोमबार दिउँसो साढे २ बजे एक सैन्य हेलिकोप्टरमा चढेर उनी बंग भवनबाट निस्केकी थिइन् । उनी भारतको पश्चिम बंगाल पुगेको बताइएको छ ।
प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा छिरेको बंगलादेशको समाचार दैनिक प्रोथोम अलोलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले लेखेको छ। हजारौंको संख्यामा प्रदर्शनकारीहरू सरकारी भवन छिरेको समाचारमा उल्लेख छ।
बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।
बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तिमा ९१ जना मारिएका छन्। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तपाईको बिचार