आज विश्व बाघ दिवस मनाइँदै

आज विश्व बाघ दिवस मनाइँदै

855

काठमाडौं । आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ । दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले ललितपुरको जावलाखेलस्थित चिडियाखाना ,बर्दिया राष्ट्रिय निकुञ्ज सहित देशभर पनि विशेष कार्यक्रम हुँदैछ । अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम गर्दैछन् ।

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।

सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ । उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ थिए । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ।

नेपालले २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना समेत गर्दै आएको छ। नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्यांक छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको संख्या बढेर २३५ पुगेको थियो ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इण्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटे बाघ पाइन्छन् ।

नेपालमा बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौतीपूर्ण बनेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर