एमाले कैलालीमा यी हुन् जिल्ला अध्यक्षका आकांक्षीहरु

एमाले कैलालीमा यी हुन् जिल्ला अध्यक्षका आकांक्षीहरु

689

धनगढी, २ फागुन । नेकपा (एमाले) कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते सुख्खडमा हुँदैछ । अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ ।

अधिवेशन नजिकिएसँगै जिल्लाको नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भैसकेको छ । माघ २७ गते प्रतिनिधि छनौटको काम सकिएको हुनाले कैलालीमा अधिवेशनको माहोल तातेको छ । जिल्लाको नेतृत्व लिन खासगरी ३ जना नेताहरुको दौडधुप तीब्र बनेको छ। अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगाना यो रेसमा अग्रपङ्तिमा देखिएका छन् । शालिन स्वभाव,स्वच्छ छविका ढुंगाना कैलालीमा लोकप्रिय नेताका रुपमा स्थापित छन् । उनलाई पार्टीको संस्थापन लाइनका नेताहरुको समर्थन रहेको बुझिएको छ ।

त्यसैगरी जिल्लाको नेतृत्व लिन वर्तमान कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशीको पनि दौडधुप तीब्र बनेको छ। खासगरी उनले सहमतिय नेतृत्व लिनलाई इच्छा देखाएको बुझिएको छ। आफू कार्यवाहक अध्यक्ष भएकोले स्वत: अध्यक्ष हुनुपर्ने माग राख्दै आएका छन् । अध्यक्षका उम्मेदवार जोशीले सहमति हुँदामात्र आफू अध्यक्ष हुने तर निर्वाचनमा गए आफू सहभागी नभै अर्का उम्मेदवार ढुंगानालाई समर्थन गर्ने जनाएका छन् ।

जिल्ला अध्यक्षका लागि अर्का आकांक्षी हुन् वर्तमान सचिव डेजी पाण्डे । अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका पाण्डेले आफू अध्यक्ष हुनुपर्ने भन्दै आफ्नो सक्रियता बढाएका छन् । केन्द्रीय सदस्य झपट रावलका विश्वासपात्र मानिने पाण्डेको समर्थनमा पार्टीको पूर्व उपाध्यक्ष भीम रावल समूह पनि रहेको छ। भीम रावल समुहले आफ्नो गुमेको साखलाई फर्काउने माध्यमका रुपमा कैलाली जिल्ला अधिवेशनलाई लिएको छ । भीम रावल मार्फत केन्द्रिय सदस्य झपट रावलले पाण्डेलाई नै अध्यक्ष बनाउनुपर्ने भन्दै विभिन्न कोणबाट जिल्लामा छलफल चलाएका छन् । जिल्लामा नेकपा एसमा रहेका नेताहरुले पनि डेजी पाण्डेलाई अध्यक्ष बनाउनुपर्छ भन्दै चासो देखाएका छन् ।

एमाले कैलालीको अधिवेशन यो पटक रोचक बन्ने देखिएको छ । हाल ३ जना उम्मेदवार देखिएपनि अन्तिममा २ मात्र उम्मेदवार हुने माहोल बन्दै गएको छ। पार्टी संस्थापनको तर्फबाट यज्ञराज ढुंगानाको उम्मेदवारी पक्का छ । उनका पक्षमा अधिकांश प्रतिनिधिहरु रहेका देखिन्छन् । अर्कातिर एमालेका १० बुँदे समूहको नेतृत्व अन्तिममा डेजी पाण्डेले गर्ने देखिएको छ। यदि सहमति नजुटी यस्तो अवस्थामा निर्वाचन भए पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि सदासयता ढुंगानाप्रति जाने देखिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर