युवा सङ्घका उपमहासचिव महेन्द्र गुरुङ जेल चलान

युवा सङ्घका उपमहासचिव महेन्द्र गुरुङ जेल चलान

819

कास्की, १८ पौष । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)लाई अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ । कास्की मादी गाउँपालिका वडा नम्बर १० स्थायी घर भएका ३९ वर्षीय गुरुङ हाल पोखरा १२ मा बस्नुहुन्थ्यो । गुरुङ गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट कास्कीको मादी गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले गुरुङसहित सूर्यदर्शन सहकारीका सञ्चालक भविश्वर अर्याललाई थुनामा पठाउन आदेश भएको जानकारी दिनुभयो । उनीहरूविरुद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार रहेका दुवै जना मंगलबार अदालतमा हाजिर हुनुभएको थियो । मङ्गलबार थुनछेक बहस नसकिएपछि दुवैहरूलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो ।

राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहनुभएका गुरुङ सूर्यदर्शन सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुनुहुन्थ्यो । उहाँले सहकारीको नौ करोडभन्दा बढी हिनामिना गरेको पोखरा महानगरले गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १० घर भएका सञ्चालक समिति सदस्य अर्याल सूर्यदर्शनकै आइटी प्रमुख हुनुहुन्थ्यो। यसअघि सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए। उनीहरू पुर्पक्षका लागि जिल्ला कारागार चलान भइसकेका छन्। उक्त सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा अझै १५ जना फरार छन् ।

सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । यो सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीवी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने प्रक्रियाअघि बढाएको छ ।

तपाईको बिचार