यातायात व्यवसायी राष्ट्रिय महासंघ- बागमती प्रदेश समितिको ‘सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रम’ सम्पन्न

563

१८ साउन, काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेश समितिको ‘सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रम’ सोमबार ( १८ साउन, २०८३ ) काठमाडौंमा सम्पन्न भएको छ। बागमती प्रदेश समितिका संयोजक सुमन गिरीको अध्यक्षतामा आयोजित समारोहमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष विजयबहादुर स्वाँर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम र यातायात क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेकाे थियाे।

समारोहका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सरकारी नीतिगत स्पष्टता र आवश्यक कार्यविधि निर्माण हुनुपर्नेमा उनले बताए।व्यवसायीहरू जीपीएसलगायत आधुनिक प्रविधि प्रयोगका लागि सकारात्मक रहे पनि कार्यान्वयनका लागि आवश्यक मापदण्ड र प्रक्रिया तय हुन नसक्दा अपेक्षित प्रगति हुन नसकेको बताए। हाल उपलब्ध प्रविधि तुलनात्मक रूपमा महँगो रहेकाले यसको व्यावहारिक प्रयोगका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष सिटौलाले यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। व्यवसायीका माग र समस्याबारे प्रधानमन्त्रीसँग भेटका लागि समय माग गरिएको तथा सम्बन्धित मन्त्रालयसँग पनि समन्वय भइरहेको उनले बताए।

कार्यक्रमका विशिष्ट अतिथि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व सङ्कलन वा जरिवाना असुली नभई सडक दुर्घटना न्यूनीकरण गरी नागरिकको जीवन सुरक्षित बनाउनु रहेको जनाए। उनले सवारी चालकले ट्राफिक नियमको पालना गरे कुनै पनि प्रकारको कारबाही आवश्यक नपर्ने स्पष्ट पारे ।

प्रमुख काफ्लेका अनुसार ट्राफिक प्रहरीको नियमित निगरानी, सचेतना र नियम कार्यान्वयनका कारण पछिल्ला महिनाहरूमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको दरमा कमी आएको छ । चालक तथा सर्वसाधारणले अनुशासित भएर ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटनालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिनेमा उनले जोड दिए।

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच नीतिगत समन्वय आवश्यक रहेको बताएका छन्। 

पूर्वअध्यक्ष स्वाँरले तीन तहका सरकारबीच ऐन, नियम र कानुन निर्माणमा एकरूपता नहुँदा यातायात क्षेत्रमा अन्योल र द्वन्द्व सिर्जना भएको स्पष्ट पारे। सरकारहरूबीच प्रभावकारी समन्वय भएमा मात्र सार्वजनिक यातायातमा गरिएको लगानी सुरक्षित हुने र यस क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित संरक्षण हुन सक्ने उनले बताए।

कार्यक्रममा स्वाँरले यातायात श्रमिकहरूको सामाजिक सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाए। महासंघले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि त्रि-पक्षीय सम्झौता गरिसकेको स्मरण गराउँदै उनले यसलाई कानुनी रूपमै अनिवार्य बनाइनुपर्ने बताए। कुनै पनि यातायात कम्पनी वा समितिले सामाजिक सुरक्षामा जान इन्कार गर्न नमिल्ने र अटेर गरेमा कम्पनी नवीकरणमा समेत बाधा पुग्न सक्ने चेतावनी उनले दिए।

‘संघीय सरकारले एउटा कानुन ल्याउने, प्रदेशले त्यसलाई नमान्ने र स्थानीय तहले कार्यान्वयन नगर्ने हो भने सार्वजनिक यातायात क्षेत्रमा थप भद्रगोल स्थिति पैदा हुन्छ।’ उनले भने, ‘तसर्थ, तीनै तहका सरकारले कानुन निर्माण गर्दा आपसमा समायोजन र समन्वय गर्न आवश्यक छ।’

कार्यक्रममा सहभागी यातायात व्यवसायी तथा चालकहरूलाई ट्राफिक सचेतना, सुरक्षित सवारी सञ्चालन र नियम पालनाको महत्वबारे जानकारी गराइएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर