नेपाल योग र ध्यानको मूल भूमि हो : संयोजक प्रचण्ड

नेपाल योग र ध्यानको मूल भूमि हो : संयोजक प्रचण्ड

611

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल योग र ध्यानको मूल भूमि भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले शिव, जनक र बुद्ध सभ्यताबाट विकसित योग तथा ध्यान आज पनि मानव जीवनका लागि उत्तिकै उपयोगी रहेको उल्लेख गर्नुभएको छ ।

योग र ध्यानलाई वैज्ञानिक रूपमा जीवनशैलीमा अपनाउँदा शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ हुने, तनावमुक्त र रोगमुक्त जीवनतर्फ डोर्‍याउने उहाँको भनाइ छ । उहाँले योग र ध्यानले सकारात्मक सोच र अनुशासित जीवनशैली विकास गर्न सहयोग पुर्‍याउने पनि उल्लेख गर्नुभएको छ ।

संयोजक प्रचण्डले आजको समाजलाई शान्ति र सद्भावको ठूलो आवश्यकता रहेको बताउँदै योगको प्रवर्द्धनले मानवता र विश्व शान्तिको दिशामा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकृतिको काखमा रहेको नेपाल योग तथा ध्यानका लागि विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले योग पर्यटनको प्रवर्द्धनतर्फ पनि सबैको ध्यान जान आवश्यक रहेको बताउनुभएको छ ।

तपाईको बिचार