काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह र सुदन गुरुङ नेतृत्वको टिमलाई ‘विदेशी दलाल’ भन्दै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्। काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा बस्नेतले ती समूहले अवैध काम गरेको दाबी गर्दै उनीहरूबिरुद्ध कारबाही सुरु गर्नुपर्ने जिकिर गरे।
बस्नेतले भने, “बालेन र सुदनलगायतका टिमहरू विदेशी दलाल हुन्। यिनीहरूले आपराधिक गतिविधिमा संलग्नता गरेका छन्, त्यसैले कारबाही तिनीहरूमाबाट नै सुरु हुनुपर्छ।”
साथै उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी मामिलामा एमालेले चाँडै औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए। संसद विघटन वैधानिक हो कि अवैधानिक भन्ने विषयमा प्रश्न उठाउँदै बस्नेतले भने, “संसद पुनर्स्थापनाका माग राख्दै हामी सर्वोच्च अदालतमा जान्छौं। पार्टीले औपचारिक रूपमा जाने कि कानुनी व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ।”
बस्नेतले रास्वपाका कार्यकर्तामाथि पनि गम्भीर आरोप लगाउँदै जेनजी आन्दोलनको समयमा उनीहरूले उनका घर जलाएको दाबी गरे। उनले भने, “हाम्रो घर जलाउनका लागि रास्वपाका कार्यकर्ता आएका छन्। यी सबैको हिसाब हामीले राखिरहेका छौं।”
उक्त आन्दोलनको क्रममा केहि व्यक्तिहरूलाई ‘हथियार’ का रूपमा प्रयोग गरिएको र बालेन शाहले पछि आन्दोलन छोडे भनेर बस्नेतले आरोप लगाए। “जब आन्दोलनको तीव्र अवस्था आयो, त्यसपछि बालेनले हर्क साम्पाङदेखि अरू सबैलाई पछाडि धकेलिदिए। अहिले हर्क साम्पाङ धरानबाट आक्रोश देखाइरहेका छन्,” उनले भने।
त्यस्तै बस्नेतले जेनजीले शुरूमै शान्तिपूर्ण आन्दोलन गर्दै भ्रष्टाचार र ‘नेपो बेबी’ विरुद्ध आवाज उठाएको स्वीकार गरे तर पछि आन्दोलनमा घुसपैठ भएको उनको दाबी छ। “जेनजीले शान्तिपूर्ण रूपमा भ्रष्टाचार र नेपो बेबीको विरुद्ध अभियान चलाएका थिए। तर बिचमा कसैले घुसपैठ गरेपछि प्रदर्शन परीवर्तित भयो र चार घण्टाभित्रै देशलाई अस्थिर पार्ने काम भएको छ,” बस्नेतले बताए।
तपाईको बिचार