काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको बताएको छ। विश्व स्वास्थ्य संगठन सोमबार विज्ञप्ति जारी गर्दै खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको बताएको हो।
दादुरा जस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यो रोगले विशेषगरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपांगता लगायतका समस्याहरु देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ।
‘नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरूको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो। यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरूआत र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ,’ विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले भनिन्। उनले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोग को सिफारिसलाई स्विकृत गर्दै नेपालबाट रूबेला निवारण भएको बताइन्।
क्षेत्रीय प्रमाणीकरण आयोगको २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेश गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्यांक तथा विवरणको समिक्षा तथा मूल्यांकन गरी नेपालमा रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको थियो।
नेपाल, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौं राष्ट्र बनेको छ।
तपाईको बिचार