काठमाडौं । गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ ।
यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरुलाई सामान आयात गर्नै सकस हुन थालेको छ । नेपाल हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवागढीबाट चीनसँग हुने व्यापार विच्छेद भएपछि नाकामा अड्किएका सामान बोकेका कन्टेनरहरु अहिलेसम्म पनि अस्तव्यस्त अवस्थामा छन् ।
कतिपय सामान तातोपानी नाकातर्फ पठाइएको भएपनि अहिलेसम्म नेपाल आउन नसकेको उनले बताए । ‘लत्ता कपडा, फलफूल लगायत करोडौं रुपैयाँको सामान अहिलेसम्म पनि नाकामै रोकिएको छ । विशेषगरी तीज, दशैं र तिहारका लागि आयात गर्न लागिएका सामानहरु नाकामै रोकिएका छन् । अबको केही दिन भित्र ती बस्तहरुलाई नेपाल ल्याउन नसके सिजन आउट हुनुका साथै कुनै सामानहरु कुहिने, षड्ने वा विग्रेर जाने सम्भावना रहेको छ,‘उनले भने ।
विशेषगरी चीनबाट आयात हुने स्याउ, लसुन, ओखर लगायत रेडिमेड कपडाहरु आयातामा समस्या भएपछि त्यसले चाडपर्वमा यी बस्तुको मूल्य बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।
अहिले तातोपानी नाकाबाट नेपाल–चीन जोड्ने बाटोमा पनि भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोले एक सातादेखि यातायात अवरुद्ध हुँदा तातो पानीबाट हुने व्यापारिक कारोबार समेत प्रभावित भएको छ । यसले व्यवसायीहरुलाई समान आयात गर्न झनै सकस भएको छ ।
तपाईको बिचार