काठमाडौं । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् ।
साउन १२ को मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुन:स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रूपैया बराबरको सहुलीयतपूर्ण ऋण सहायता पनि स्वीकार गरिएको छ ।
बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतका रजिष्टार विमल पौडेललाई मुख्य रजिष्टार पदमा बढुवा गरेको छ ।
तपाईको बिचार