काठमाडौं,९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताउनुभएको छ ।
राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने स्पष्ट गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘इतिहासका अनेकौ कालखण्डबाट गुज्रदै हाम्रो देश अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अंगालेर अघि बढ्दैछ । वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो । यसबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौ । हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु ।’
राष्ट्रपति पौडेलले षड्यन्त्रै षडयन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने आफूले लेख लेखेको स्मरण गर्दै भन्नुभयो- हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुला र उन्नतशील समाज बाट नेपाललाई डोर्याउन कटिबद्ध छौ । त्यसैले निराश हुन ज़रूरी छैन, हामी निराशालाई आयामी बदल्न कटिबद्ध छौ ।
राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै हाम्रो देश बनेको स्ष्पट पार्नुभयो । उहाँले नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भिमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ भएको पनि बताउनुभयो । उहाँले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधीन हुनबाट थापाले जोगाएको स्मरण गनुभयो ।
राष्ट्रपति पौडेलले भीमसेन थापाको राष्ट्र«प्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको भन्दै आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘उहाँको राष्ट्र«प्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको हो । थापाले आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय छ । त्यसैले नेपालको इतिहासमा भीमसेन थापाको स्थान उच्च रहेको स्पष्ट हुन्छ ।’
साे क्रममा राष्ट्रपति पाैडेलले कुटनीतिज्ञ भेषबहादुर थापालाई यसवर्षकाे भीमसेन थापा पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।
तपाईको बिचार