यू-१६ इस्ट जोन कप : नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

यू-१६ इस्ट जोन कप : नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

655

काठमाडौ, १७ असार । रौनक श्रीवास्तवको शतक सहयोगमा एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा भुटानविरुद्धको खेलमा नेपालले ३ सय ५८ रनको विशाल योगफल तयार गरेको छ ।

मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गर्यो ।

नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । नेपालको सुरुवात भने राम्रो रहन सकेको थिएन । नेपालले १७ रन जोड्दा २ ओपनरहरुलाई गुमाएको थियो । तर, तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग मिलेर ८४ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्थितीमा ल्याए ।

शिवान्शं ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रनमा आउट भए । चौथो विकेटका लागि रौनकले सुगम बुढाथोकीसँग मिलेर ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकाको सहयोगमा ३५ रन जोडे ।

पाँचौ विकेटका लागि रौनकले जोय थापासँग मिलेर १ सय ३० बलमा १ सय ७० रनको शतकीय साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे । अघिल्लो खेलमा शतक प्रहार गरेका प्रसिद्ध जैसी १४ बलमा ७ तथा परिमार्जन यादव २ रनमा आउट भए । भुटानका लागि संजय दोर्जेले ३ तथा तेन्जिन लोडेले १ विकेट लिए ।

नेपाल खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर