चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छः ऊर्जामन्त्री खड्का

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छः ऊर्जामन्त्री खड्का

620

काठमाडौं, १७ असार । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भविष्यमा चीनसँग उर्जा क्षेत्रमा थप सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

एक साताको भ्रमण सकेर मन्त्री खड्का सोमबार नेपाल फर्किएका हुन् । चीन सरकार नेपालको ऊर्जा क्षेत्रको विकास र भविष्यका बारेमा सहकार्य गर्न तयार रहेको उनले जानकारी गराए । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानको लागि प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपाल अब ऊर्जा सुरक्षामा आत्मनिर्भर बनिसकेको छ र हामी भविष्यमा यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ ।‘

मन्त्री खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा नेपालको ऊर्जा रणनीति र दीर्घकालीन सहकार्यका विषयमा आफ्नो धारणा राखेका थिए । बैठकमा उनले नेपालको आगामी ऊर्जा योजनाबारे जानकारी दिँदै, २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने योजनाबारे पनि चर्चा गरे ।

मन्त्री खड्काले बैठकमा चीनसँग भविष्यमा सहकार्य थप बलियो बनाउने कुरामा जोड दिए । उनका अनुसार, “ऊर्जा अब केवल व्यापारको विषय होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो । नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकको रूपमा अघि बढाउने योजना बनाएको छ ।’

तपाईको बिचार