काठमाडौँ, १५ असार । नेपालमा पहिलो राष्ट्रिय मनोवैज्ञानिक तथा मनोपरामर्श सम्मेलन शनिबार कीर्तिपुरमा सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभाग र त्रिविकै मनोपरामर्श एमए कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा ३२ वटा विभिन्न अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घडी बिल्डिङमा विभिन्न पाँच सत्रहरू राखिएका थिए भने उद्घाटनसत्र त्रिविको अडिटोरियममा सम्पन्न भएको थियो। सम्मेलनको थिम ‘साइकोलोजी इन द चेन्जिङ वर्ल्ड’ थियो।
सम्मेलनको उद्घाटन गर्दै त्रिविका रेक्टर प्रा.डा. दुविनन्द ढकालले यस्ता कार्यक्रमहरुले मनोविज्ञान मात्रै नभएर सामाजिक विज्ञानका क्षेत्रमा सकारात्मक योगदान गर्ने बताउँदै यसको आगामी वर्षहरुमा पनि निरन्तरताका लागि आग्रह गरे ।
सामाजिक क्षेत्रमा देखिएको विभिन्न जटिलताहरुलाई यस्ता किसिमका सम्मेलनले सम्बोधन गर्न भूमिका खेल्छ, उनले भने, आफ्नो स्थानबाट समाजलाई सकारात्मक दिशा प्रदान गर्न यो सम्मेलनले महत्वपूर्ण सुरुवात गरेको छ । आगामी दिनमा यसको दायरा बढाउँदै लगियोस् भन्ने शुभकामना प्रदान गर्छु ।
सम्मेलनको उद्घाटनसत्रमा बोल्दै मनोविद् डा. शिशिर सुब्बाले मनोविज्ञान आयातीत ज्ञान भएकाले पश्चिमको आँखाले पूर्वका समस्याहरूलाई हेर्न नहुने बताएका थिए। उनले कार्यक्रममा भने- ‘पश्चिमको ज्ञानलाई पूर्वको संस्कृतिसँग जोड्न सकियो भने मनोविज्ञानको ज्ञान प्रभावशाली बन्नजान्छ।’
मनोविज्ञान केन्द्रीय विभागका प्रमुख डा. खेमराज भट्टले नेपालमा वि.सं. २०३८ सालदेखि मनोविज्ञानको सुरु भएको तर नेपालकै सांस्कृतिक र धरातलीय यथार्थमा भएका अनुसन्धानको भने कमी रहेकाले पनि यस क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । यसको यथार्थ महसुस गरेर नै पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरिएको उनले बताए। अरु विभागसँगै स्थापना भएको मनोविज्ञान नयाँ विषय होइन, औपचारिक रुपमा ३८ सालबाट सुरु भएको यो विभागलाई अझै परिष्कृत बनाउँदै यहाँसम्म आइपुग्ने क्रममा यो सम्मेलन आयोजना भएको हो, उनले भने । उनले आगामी दिनमा नेपालमा मनोविज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजनाबारे जानकारी गराएका थिए। सम्मेलनका लागि ठूलो संख्यामा अनुसन्धाताहरूको कार्यपत्र आएको र तीमध्ये छानिएका कार्यपत्र सम्मेलनमा प्रस्तुत गरिएको उनले जानकारी दिए।
त्यस्तै, मनोपरामर्श एमए कार्यक्रमका प्रमुख डा. सन्देश ढकालले कार्यक्रमका सहभागीहरूलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले सम्मेलन गर्न सफल भएको बताएका थिए।
त्रिवि विश्वविद्यालय क्याम्पसका प्रमुख डा. अक्कलदेव मिश्रले समाज विज्ञान, प्राकृतिक विज्ञान र गणित विज्ञानको महत्त्वबारे कार्यक्रममा स्पष्ट पार्दै मनोविज्ञानसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेकामा आयोजकहरूलाई बधाई दिएका थिए।
सम्मेलनको समापन गर्दै विभागकी पूर्वप्रमुख प्रा. डा. नन्दिता शर्माले सम्मेलन होला नहोला भन्ने परिस्थितिका बाबजुद सहज तवरले सफलतापूर्वक सम्पन्न भएको भन्दै खुशी व्यक्त गर्दै सबैमा आभार व्यक्त गरेकी थिइन् ।
सम्मेलनमा विभिन्न ३२ अनुसन्धाताले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। पाँच सेसनमा पाँच बेग्लाबेग्लै विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए।
‘शिक्षा र साइकोमेट्रिक्स’ शीर्षकमा भएको सेसनको अध्यक्षता डा. सन्देश ढकालले गरेका थिए भने ‘बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य’ शीर्षकको अर्को सेसनको अध्यक्षता डा. नन्दिता शर्माले गरेकी थिइन्। त्यस्तै, ‘मनोविज्ञान र मनोपरामर्शमा समसामयिक विषय’ शीर्षकको अर्को सेसनको अध्यक्षता डा. नारायणप्रसाद शर्माले गरेका थिए। अर्को ‘डिजिटल स्वास्थ्य र अन्य विषयहरू’ शीर्षकको सेसनको अध्यक्षता डा. खेमराज भट्टले गरेका थिए। त्यस्तै ‘कार्यस्थल व्यवहार’ शीर्षकको अर्को सेसनको अध्यक्षता डा. केदार रायमाझीले गरेका थिए।
कार्यक्रममा मनोविज्ञान क्षेत्रका हस्तीहरू, विभिन्न क्याम्पसका विभागीय प्रमुखहरू, शिक्षकहरू, विद्यार्थीहरू साथै मनोविज्ञान क्षेत्रमा रुचि रहेकाहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमको उद्घाटन सत्र अनिष्मी शर्मा र समापन समारोह मनोविज्ञान विभागका सहप्राध्यापक सञ्जेश श्रेष्ठले सञ्चालन गरेका थिए।
तपाईको बिचार