काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई आज जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ । ४१ मध्ये मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्ध र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि म्याद लिन अदालतमा उपस्थित गराइएको हो ।
सोही प्रकरणमा पक्राउ परेका अन्य ३० जनालाई भने आपराधिक उपद्रवमा अनुसन्धानका लागि म्याद लिन उपस्थित गराइएको छ । अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा १० दिनेको म्याद मागेको सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए ।
चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो । दुगाई प्रसाईंको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले समर्थन गरेको थियो भने राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएको थियो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सुवेदी नेतृत्वको समितिको सदस्य सचिव र महामन्त्री राणा आन्दोलन परिचालन समितिमा थिए । प्रसाईंलाई भने ‘जनकमाण्डर’ तोकिएको थियो । प्रदर्शनमा मिश्र र राणा सहभागी रहेको र उनीहरूले प्रदर्शनकारीलाई भड्काएको आरोप छ । मिश्र र राणालाई हतकडी लगाएर म्याद थपका लागि काठमाडौं अदालत उपस्थित गराइएको छ ।
यता शुक्रबारको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन् । आइतबार उनले फेसबुकमा भिडिओ राख्दै आफू काठमाडौंकै कुनै मन्दिरमा बसेको उल्लेख गरेका छन् । प्रहरीले संगठित अपराधमा पनि अनुसन्धान गर्ने भएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ । चैत १५ गते तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बेग्लाबेग्लै ८ वटा पत्र काटेर ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
तपाईको बिचार