जल शाह २ वर्षभित्र फिल्ममा फर्किने

जल शाह २ वर्षभित्र फिल्ममा फर्किने

583

काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री जल शाहले आगामी २ वर्षभित्र फिल्म अभिनयमा पुनरागमन गर्ने भएकी छन् । आइतबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्ममा फर्किन लागेको बताइन् ।

 

उनले भनिन्, ‘अबको २ वर्षमा म फिल्ममा फेरि देखिने छु । अहिलेसम्मको समय परिवारसँग बिताउने कुरालाई प्राथमिकतामा राखेकी थिएँ । छोरी कलशको हेरचाहमा समर्पित भएको थिएँ । अब उनी ठूली भैसकेकी छिन् ।’

 

लामो समयदेखि अमेरिकामा बस्दै आएकी शाहले कुन र कसले निर्माण गर्ने फिल्मबाट फर्किन लागेको भन्ने कुरा बताइनन् । पछिल्लोपटक उनले १९ वर्षअघि रिलिज भएको फिल्म ‘क्रोध’मा अभिनय गरेकी थिइन् ।

 

जलले छोरी कलशले संचालन गरिरहेको सामाजिक अभियानबारे जानकारी गराउन प्रेसमिट गरेकी थिइन् । सो अवसरमा काभ्रेको चौरीदेउरालीसहित अन्य स्थानका विद्यालयमा पुगेर कलशले सामाजिक संस्था शिक्षा फाउण्डेसनमार्फत खाद्य, लुगा र शैक्षिक सामाग्री वितरण गरेकोबारे जानकारी दिइन् ।

 

पत्रकार सम्मेलनमा १६ वर्षिया कलशलाई डेब्युबारे पनि सोधिएको थियो । उनले अहिले आफ्नो प्राथमिकता पढाइ रहेको त्यो पुरा भएपछि फिल्ममा डेब्यु गर्ने बताइन् ।

 

डेब्युबारे कलशले भनिन्, ‘मेरो लक्ष्य पढाइलाई प्राथमिकता दिनु हो । जब मैले पढाइ पुरा गर्नेछु, तब आमा जल शाहको फिल्म ‘जे भो राम्रै भो’ जस्तै फिल्मको अफर आए डेब्यु गर्नेछु ।’ ३ साताको नेपाल बसाइपछि जल सोमबार अमेरिका फर्किने तयारीमा छिन् ।

 

पत्रकार सम्मेलनमा शिक्षा फाउण्डेसनको लागि सहयोग प्रदानको घोषणा पनि गरियो । पत्रकार ऋषि धमलाले जलकी दिवंगत आमा प्रेमाको सम्झनामा हरेक वर्ष ‘प्रेमा शाह साहित्यिक पुरस्कार’बाट एकजना पत्रकारलाई १ लाख रकमसहित सम्मान गर्ने बताए । ‘लाज शरणम’का निर्माता नवीन श्रेष्ठले फाउण्डेसनलाई १ लाख ११ हजार रुपैयाँ दिने घोषणा गरे ।

 

संचारकर्मी प्रकाश सुवेदीले जुन दिन कलश अभिनेत्रीको रुपमा आउनेछिन्, सोही दिनदेखि उनको अन्तर्वार्ता लिएर आफूले चलचित्र पत्रकारिताबाट सन्यास लिने घोषणा पनि गरे ।

तपाईको बिचार