काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकारको रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशको अवसरमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निराशाजनक बनाउन कार्य गर्दै जाने बताए।
“अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा सङ्घर्ष चलिरहेकै छ। हामीले धेरै वर्ष पहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुग्ने उद्देश्य राख्दा, यसलाई जनताको गणतन्त्र बन्न नदिने प्रयास हुने कुरा अनुमान गरेका थियौँ, र आज त्यही स्थिति आएको छ,” अध्यक्ष दाहालले भने, “केहि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा छन्, तर हामी यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्ने प्रयास जारी राख्नेछौँ।”
माओवादीले सामुदायिकतर्फ फर्केर जनताका ‘एजेण्डा’लाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको बताए। राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरेपनि जनताले महसूस गर्ने गरी उनीहरूको जीवनमा परिवर्तन ल्याउन पार्टीलाई जुट्नुपर्ने आवश्यकता रहेको बताए।
त्यस अवसरमा अध्यक्ष दाहाल र अन्य माओवादी नेताहरुले पार्टी कार्यालय परिसमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए।
तपाईको बिचार