काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले खानेपानी मन्त्रालयमा भएको आगलागीको घटना छानबिन गर्न र सर्लाहीका प्रेम विवाह गरेका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई न्याय दिन माग गरेका छन्।
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्दै सांसदहरूले संविधानबाट प्राप्त अधिकारको रक्षा गर्न र पीडितलाई न्याय दिन तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे।
सांसद डा बेदुराम भुसालले प्रेम विवाह गर्नु मानिसको नैसर्गिक अधिकार भएको बताउँदै, यस्तो अधिकार हनन गर्नु प्राकृतिक न्यायको सिद्धान्तसँग मेल नखाने कुरा भएकोले पीडितलाई न्याय दिन र दोषीलाई कानुनी कारबाही गर्न माग गरे।
सांसद गोपीबहादुर सार्की अछामीले प्रेम विवाह गरेका सत्येन्द्र र नेहाको जोडी अझै असुरक्षित रहेको भन्दै गृह प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरे।
सांसद मायाप्रसाद शर्माले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा केही दिनअघि भएको आगलागीको घटनाको तत्काल छानबिन गर्न सरकारसँग माग गरे। उनले भने,यदि सिंहदरबारमै यस्तो स्थिति आउँछ भने गाउँको अवस्था के होला यस घटनाको सत्यतथ्य बाहिर ल्याएर यस्ता घटनाहरू भविष्यमा नदिने संयन्त्र बनाउनु पर्छ।
सांसद गङ्गाकुमारी बेलबासेले माइतीघर मण्डलामा धर्नामा रहेका स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न र गुठीको स्वामित्वमा रहेको जग्गामा बसोबास गर्दै आएका किसानलाई मोही हक दिने माग गरे।
सांसद तारामान स्वारले अछामको ढकारी गाउँपालिकाका दुई किशोरीको जघन्य हत्याकाण्ड र धनगढीको एक विद्यालयमा कक्षा ७ मा पढ्ने बाजुरा जिल्लाकी एक किशोरीको अपहरण र बलात्कारका घटनाबारे दोषीलाई कानुनी कारबाहीको माग गरे।
सांसद तुलसाकुमारी दाहालले एलपी ग्यास व्यवसायीहरूको समस्यामा ध्यान दिन र ग्यासको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद मृगेन्द्रकुमार सिंह यादवले मिटरब्याज पीडितहरूलाई न्याय नदिएको भन्दै सरकारसँग न्यायको माग गरे।
सांसद शारदादेवी भट्टले इजरायलमा हमासको आक्रमणमा परी अज्ञात रहेका बिपीन जोशीको रिहाइमा विलम्ब भएको र युद्धविरामपछि अन्य बन्दीको रिहाइ भइरहँदा पनि बिपीनको अवस्था अज्ञात भएको पीडादायक अवस्थाबारे चाडो रिहाइका लागि पहल गर्न सरकारसँग आग्रह गरे।
सांसद सुमित्रा बिसीले सुर्खेतमा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, उक्त सडकको स्तरोन्नतिको काम चाँडो सम्पन्न गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउन माग गरिन्।
तपाईको बिचार