काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विभिन्न निकायहरूले सञ्चालन गर्ने कार्यक्रम र जिम्मेवारी तोकिएको छ। सञ्चार मन्त्रालयका सचिव राधिका आर्यालको संयोजकत्वमा आज बसेको प्रचारप्रसार उपसमितिको बैठकले प्रजातन्त्र दिवस २०८१ लाई भव्य बनाउन मन्त्रालय मातहतका सात निकायहरूको जिम्मेवारी तय गरेको हो।
राष्ट्रिय समाचार समिति(रासस)लाई प्रजातन्त्रका विषयमा रिपोर्टिङ गर्ने, लेख रचना प्रकाशित गर्ने, अन्तवार्ता सञ्चालन गर्ने र अङ्ग्रेजी समाचार सेवामार्फत आलेख र अन्तर्वाताहरू अनुवाद गर्ने जिम्मेवारी दिइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरूसँग मिलेर एसएमएस, रिङ ब्याक टोन र डिजिटल डिस्प्ले बोर्डहरूमार्फत प्रजातन्त्र दिवसको शुभकामना सन्देश प्रवाह गर्ने व्यवस्था गर्नेछ र अनुगमन, समन्वय तथा सहजीकरण पनि गर्नेछ।
प्रजातन्त्र दिवसको अवसरमा एसएमएस पठाउने, डिजिटल डिस्प्लेहरूमा शुभकामना सन्देश प्रवाह गर्ने जिम्मा नेपाल टेलिकमलाई दिइएको छ। विज्ञापन बोर्डले प्रजातन्त्र दिवससँग सम्बन्धित लोक कल्याणकारी विज्ञापन तयार गरी देशभरका ८६६ वटा पत्रिका र पत्रपत्रिकामा प्रकाशनको लागि पठाउने र कार्यान्वयनको समन्वय गर्नुपर्नेछ। बोर्डले नेपाल टेलिभिजनसँग मिलेर जनचेतनामूलक सामग्रीहरू देशभरका विभिन्न एफएम रेडियोहरूमा प्रसारण गर्ने व्यवस्था पनि मिलाउनेछ।
गोरखापत्र संस्थानले गोरखापत्र दैनिक, दि राईजिङ नेपाल र अनलाइनमार्फत प्रजातन्त्र दिवसका विविध पक्षहरूलाई समावेश गरी सामग्री प्रकाशन, मल्टिमिडिया कन्टेन्ट तयार पार्ने, विचार, अन्तर्वार्ता, लेख र रचना प्रकाशित गर्नुपर्नेछ। संस्थानले प्रजातन्त्र निर्माणदेखि यसको कार्यान्वयनका विभिन्न पक्षहरूलाई समेट्ने विशेषाङ्क प्रकाशन गर्ने र शुभकामना सन्देशहरू प्रकाशन गर्ने बताइएको छ।
सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल) ले मूल समारोहको लाइभ प्रसारण गर्ने, रेडियो नाटक, अन्तरसंवाद, परिसंवाद कार्यक्रम सञ्चालन गर्ने, जागरण गीत, राष्ट्रिय प्रजातन्त्रसम्बन्धी गीत, राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को मूल नारामा आधारित जनचेतनामूलक सामग्री प्रसारण गर्ने र सबै प्रादेशिक प्रसारण केन्द्रबाट राष्ट्र भाषामा समाचार तथा कार्यक्रम उत्पादन र प्रसारण गर्नेछ।
सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन (प्रादेशिक च्यानलसहित) ले राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह र अन्य प्रमुख कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गर्ने, प्रजातन्त्रका विविध पक्षहरूलाई समावेश गरी परिसंवाद, संवाद, जागरण गीत, समाचार, समसामयिक स्टोरीहरू प्रसारण गर्ने, मातृभाषामा कार्यक्रम सञ्चालन गर्ने र प्रजातन्त्रसँग सम्बन्धित वृत्तचित्रहरू तयार पारेर प्रसारण गर्नेछ।
सूचना तथा प्रसारण विभागले सरकारी, सामुदायिक र निजी सञ्चार माध्यमहरूमा प्रजातन्त्रको महत्त्वको सम्बन्धमा प्रकाशन र प्रसारणमा समन्वय र सहजीकरण गर्नेछ। नेपाल पत्रकार महासंघको समन्वयमा राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा विशेषाङ्क/स्मारिका प्रकाशन गर्ने र प्रजातन्त्रको बहुपक्षीय आयामलाई समेटेर लेख रचना प्रकाशित गर्ने जिम्मेवारी विभागलाई दिइएको छ।
तपाईको बिचार