मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायमार्फत मासिक रु एक लाख आम्दानी गर्न सफल भएका छन्। उनी यस व्यवसायबाट आत्मनिर्भर बन्ने प्रयासमा निरन्तर अग्रसर छन्। उनको दैनिक दिनचर्या बिहान उठेर राति अबेरसम्म खुवा उत्पादन र बिक्री गर्नमै व्यस्त रहन्छन्। दुई वर्षदेखि खुवा व्यवसायमा संलग्न श्रेष्ठको ‘चुच्चे खोलामा उत्तम खुवा घर’ सञ्चालनमा छ।
खुवा व्यवसायमा संलग्न हुनु अघि, श्रेष्ठले लामो समयसम्म किराना पसल र तोरी मिल सञ्चालन गरेका थिए। तर, गाउँघरमा उधारो धेरै हुने कारण र किराना पसलबाट अपेक्षित लाभ नहुने देखेर उनले खुवा व्यवसायको छनोट गरेका हुन्। उनका अनुसार,गाउँका परिस्थितिहरू र पसलको कम लाभले मलाई व्यवसाय परिवर्तन गर्न बाध्य बनायो ।
उत्तम श्रेष्ठले खुवा व्यवसायमा समृद्धि देखेपछि अहिले दैनिक रूपमा ३० किलो खुवा बिक्री गर्दै आएका छन्। उनको पसलमा खुवा मात्रै होइन, खुवा आधारित विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, र अन्य पुष्टकारी उत्पादनहरू पनि बिक्री हुने गर्दछ। खुवा व्यवसायमा राम्रो आम्दानी देखेपछि, उनले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानीसमेत गरेका छन्। उनले भने,खुवाको लागि भैँसीको दूध आवश्यक पर्छ, त्यसैले मैले रु दश लाख लगानी गरेर किसानलाई भैँसी किन्ने अवसर दिएको छु।
व्यवसायमा आधुनिकता र परम्परालाई सँगै समेट्दै, श्रेष्ठले आफ्ना पसललाई सफा, आकर्षक र व्यवस्थित राखेर ग्राहकमाझ लोकप्रिय बनाएका छन्। उनले भने,पर्यटक र ग्राहकलाई आकर्षित गर्न सफा र आकर्षक ढंगले व्यवसाय संचालन गर्नुपर्छ। मैले खुवा र अन्य परिकारलाई सफा र स्वादिष्ट बनाउने प्रयास गरेको छु।
अर्थशास्त्र र समाजमा सकारात्मक प्रभाव पार्ने व्यवसायको रूपमा खुवा उत्पादनका लागि उनले ६ जना कर्मचारीलाई रोजगारीको अवसर प्रदान गरेका छन्। उनको व्यवसायमा खाजा नास्ता लगायत अन्य उत्पादनबाट मासिक रु दश लाखको कारोबार हुन्छ। मासिक खर्चको रूपमा दूध खरिद, खुवा पकाउने दाउरा, र कर्मचारीको तलबका लागि साढे आठ लाख रुपैयाँ खर्च हुने बताउँछन्।
अरू व्यवसायको तुलनामा खुवा व्यवसायमा बढी सन्तुष्टि र आत्मनिर्भरता मिलेको उनको भनाइ छ। उनले आफू र परिवारलाई पनि सँगै लिएर व्यवसायलाई अझ बढाउनका लागि योजना बनाइरहेका छन्। उनले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउन सकिने उदाहरण प्रस्तुत गर्दै, देशमै व्यापार गरेर आत्मनिर्भर बन्न सकिने कुरा प्रमाणित गरेका छन्।
उत्तम श्रेष्ठको पसलबाट उत्पादित खुवा अहिले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेको चितवनसहितका विभिन्न जिल्लामा निर्यात हुँदै आएको छ। कान्तिलोक पथ हुँदै हिँड्ने यात्री र खुवा प्रेमीहरूलाई उनको व्यवसायले आकर्षित गरेको छ। यसरी, खुवा व्यवसायले आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण प्रस्तुत गर्दै समाजमा सशक्त प्रभाव पार्न थालेको छ।
तपाईको बिचार