दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपील गरेका छन् । तनहुँको व्यास नगरपालिका –८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदहरूको शालिकमा माल्यार्पण पछि स्थानीयलाई सम्बोधन गर्दै उनले भने –“सहिदहरूको ठूलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौ ।
अब विदेश जाने छटपटाहट छोडौ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौ । “ उनले लोकतन्त्रपछि देशमा धेरै काम भएको र अझै हुन बाँकी रहेको उल्लेख गर्दै अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो १ उनले गाउँमा अब कृषि क्रान्ति गरेर गाउँमै रोज़गारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने पनि बताए ।
राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिदहरू भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको शालिकमा माल्यार्पण गरे ।
लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शाहदत प्राप्त गर्ने पुलिमराङका ६ जनाको शालिक यो पार्कमा रहेको छ । जसमध्ये धर्मध्वज गुरुङले १ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा शाहदत प्राप्त गरेका थिए । त्यसैगरी २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा शहादत प्राप्त गरेका थिए । शमसेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिएका थिए ।
राष्ट्रपति पौडेलले माघ १६ गते सहिद दिवसका अवसरमा गृहजिल्ला पुगेर लोकतान्त्रिक आन्दोलनमा शाहदत प्राप्त गर्नुभएका सहिदहरूको शालिकमा माल्यार्पण गरेर श्रद्धा प्रकट गरे। सो क्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
तपाईको बिचार