पाथीभरा क्षेत्रमा गोली लागेकामध्ये तीन जना गम्भीर घाइते

पाथीभरा क्षेत्रमा गोली लागेकामध्ये तीन जना गम्भीर घाइते

601

ताप्लेजुङ । पाथीभरा ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा बन्न लागेको केबलकारको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ । प्रहरीबीच भएको झडपमा घाइते भएका मध्ये तीन जना गम्भीर घाइते भएका छन् ।

हिजो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । गोली लागेकामध्ये तीन जना गंभीर घाइते भएका हुन् । आन्दोलनका क्रममा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी छन् ।

गोली लागेकामध्ये तीनको अवस्था गम्भीर छ । एक जना भने अश्रुग्यास प्रहार गर्दा घाइते भएका हुन् । पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब एक किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो र साँझ दुई पटक झडप भएको हो ।

दिउँसोको झडपमा प्रहरीले अश्रु्ग्यास मात्रै प्रहार गरेको थियो । साँझ तनाव झन भड्किन थालेपछि गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले आन्दोलनकारीतर्फ पाँच जना र सुरक्षाकर्मीतर्फ २१ जना घाइते भएको जानकारी दिए । अधिकारीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरीका ९ जना छन् । इन्स्पेक्टरसहित घाइते भएको उनले जानकारी दिएका छन् ।

प्रहरीको गोली लागेर तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का मंगल लावती, सगुन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । यामबहादुर, सगुन र धर्मलाई थप उपचारका लागि विराटनगर ल्याइएको हो ।

त्यसअघि जिल्ला अस्पताल ताप्लेजुङमै उपचार गराइएको थियो । सामान्य अवस्थाका मंगल डिस्चार्ज भइसकेका छन् ।पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण प्रक्रिया अघि बढाएको छ । त्यसको विरोध गर्दै पहिचान पक्षधरले मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतका समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । कम्पनीले मंगलबारदेखि केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेको थियो । त्यसपछि आन्दोलनकारीहरु पाथीभरा केन्द्रित भएर विरोध गरिरहेका छन् ।

आन्दोलनकारीले केबलकार निर्माणको काममा अवरोधको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीको भनाइ छ । आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना पाएको भन्दै खोजीका लागि गएको सुरक्षाकर्मीको टोलीलाई माथिबाट ढुंगा र गुलेलीले हानिएको प्रहरीको भनाइ छ । पाथीभरा मन्दिर क्षेत्रको फुङलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिरनजिकसम्म २।७ किलोमिटर केबलकार बनाउन काम सुरु भएको छ । पाथीभरा मुक्कुमलुङ केबलकार प्रा।लिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर काम सुरु गरेको छ । केबलकारको लागत अनुमान करिब ३ अर्ब रूपैयाँ छ ।

 

 

 

 

तपाईको बिचार