काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारी जमिन हडप्ने उद्धेश्यले अध्यादेश ल्याइएको दावी गर्दै उनले आपत्ति जनाएका हुन् । टुँडिखेल, खुल्लामञ्च आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएको भन्दै बालेनले सरकारप्रति कटाक्ष गरे ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।’ त्यसैगरी, उनले सरकारमा रहेको पार्टीका कार्यकर्तालाई पनि व्यंग्यात्मक बधाईं दिएका छन् । अगाडि थपेका छन्,‘बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
अध्ययन गर्न बाँकी रहेको भन्दै ‘होल्ड’ मा राखिएको अध्यादेश प्रमाणिकरण भएको छ । अध्यादेशमा सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जासहित उपलब्ध गराउने व्यवस्था छ । यस्तो कानुनी प्रबन्धले सरकारी जमिन दुरुपयोग हुनसक्ने आशंका गरिएको छ ।
गत शुक्रबार राति बसेको क्याबिनेटको बैठकले पाँच वटा अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले चार वटा अध्यादेश जारी गरेर एउटा रोकेका हुन् ।
तपाईको बिचार