कविता - म जलेको जल्यै छु

कविता – म जलेको जल्यै छु

807
सीता ओझा
म जलेको जल्यै छु,
समाज सुधार्ने सपना बोकेर
विचारको धुवाँले सपना ढाकेर,
आशाका पातहरू सोहोर्दै
हरियो मन भुइँमा छरपस्ट पार्दै
अरुको सेवामा लतारिएको लतारिऐ  ।
म जलेको जल्यै छु
विचार र वादले बोकेको आगोलाई
छातीमा बाल्न सल्बलाउँदै
काँचो सल्लोमा आगो सल्काउँद
ज्वाला निकाल्न धुवाँ उडाउँदै
अनेकौं पटक सल्बलाउँदै
ज्वालाको ताप बोकेर
सयौंलाई तताउँदै
गाउँ र शहर छिरेर
भलो को लागि बौलाहाउँदै ।
म जलेको जल्यै छु
आगोको आग्रहमा
बीउ जोगाउन रहरमा
पानीको मुल फुटाउने आग्रहमा
जिउ जोगाउने होडबाजीमा
रङ्ग फेर्न,घर फेर्न र बुद्धि बेर्ने
हनमेर्नु बन्नमा पनि म तयार नै छु ।
म जलेको जल्यै छु
किन जलेँ
रागबाट अनुराग बन्न
विजबाट बिरुवा हुँदै
कोपिला र फूल बन्न
तर
धोक्रो बोक्न नपाउँदै
नयाँ गोठालोले धाएको देख्दा
मेरो गोठ रितिन्छ कि भन्ने तापले
हेपाहा चरित्र र अन्यायको रापले
अहिले पनि जलेको जलै छु ।
म जलेको जल्यै छु
आगोको मुस्लोले थिचिएर
गुटबन्दीको लिप्सोले च्यापिएर
नाताबाधको झुम्म्रोले निचोरिएर
चाकडी गर्न नजानेर
दुई चार गैंडा हात्ती नदौडाएर
जुल्पे,मुस्ले न बनाएर
सेल्फीको रङ्ग कोर्न नजानेर
नातासम्बन्ध जोड्न नजानेर
दुई चार रातको सयर मार्न नमानेर ।
म जलेको जल्यै छु
पीडाको खरानीमा,
विचारको आरनमा
बलिको सिरानीमा
नयाँहरुको खटनीमा
मेरै अस्तित्वको अर्नीमा ।
म जलेको जल्यै छु
यो डढेको जीवनको जिउँदो मुर्दा बोकेर
नयाँ जन्मको संकेत खोज्दैछु
खरानीको सफेद टीकाभित्र
 मेरो राजनीतिको
सक्रिय र निस्कृय जिवनको
परिचय सहितको अस्तित्व खोज्दै छु
नयाँ र पुरानोको नाममा
हेपिएको कारणको प्रतिउत्तर सुन्दैछु ।
म जलेको जल्यै छु
म जल्न थालेपछि
मेरो ज्वालाको रङ्ग रातोको रातै छ
म जलिसकेपछिको खरानी सेतै छ
सल्लो जलाए पनि अल्लो पलाए पनि
आगोको राप र ताप समान छन
तर भेदको व्यवहारले
म थिचिएको थिचिएकै छु ।
म जलेको जल्यै छु
राप,ताप र ज्वाला मेरै चम्किलो थियोे
सेल्फीको उज्यालोमा उ चम्किएको थियोे
महक चम्काउने
ढाँचा फरक भएकै कारण
राप र ताप नभएपनि
उ भर्याङ्गमा माथि उक्लिएको उक्लिएकै थियोे
म ओरालो झरेको झरै छु ।
२०८१/०९/२१

तपाईको बिचार