रमा न्यौपाने ( आर्ज्या )
काठमाण्डौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थायी लेखा नम्बर (प्यान) कारोबारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरेको छ ।
आइतबार महासंघले सातौँ साधारण सभा तथा तेश्रो राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिन काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस्तो माग गरेको हो ।
महासंघले पौष २० गते शनिवार काठमाडौंमा तेश्रो राष्ट्रिय अधिवेशन गर्ने लागेको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष कुमार कार्कीले २०७४ सालमा स्थापना भएको महासंघले तेस्रो राष्ट्रिय अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने बताए । उनले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानको लागि राज्य स्तरसम्म पुराउने काम महासंघले गर्दै आएको बताए ।
महासंघको तेश्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको भन्दै उनले अधिवेशन मार्फत सरकारसँग महासंघले नेपाल भारत खुला सिमामा हुने चोरी पैठारी तत्काल रोक्नु माग समेत गर्ने बताए ।
साना तथा मझौला उद्योगी व्यवसायीहरूलाई विना थिती सहुलियत व्याजदरमा २५ लाख सम्मको ऋण उपलब्ध गराउनु पर्ने उनको धारणा छ । अध्यक्ष कार्कीले व्यवसाय दर्ता एकद्वार प्रणालीमा गर्न सरकारसँग माग समेत गरेका थिए ।
महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरे । उनले प्यानमा ५० लाखसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था रहेको भन्दै त्यसलाई पुनर्विचार गरी सरकारले २ करोड बनाउनु गर्नेमा जोड दिए । शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको लागि राज्यले वैज्ञानिक घरभाडा लागू गर्नु पर्ने भन्दै उनले महासंघले बारम्बार यस्ता सबालहरु उठान गर्दै आए पनि सरकारले सुनुवाई गर्न नसकेको गुनासो गरे ।
उनले खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात् पुनरावलोकन नगर्ने व्यवस्था लागू गर्नु पर्ने भन्दै सरकारसँग साना उद्योगी व्यवसायीहरुको पनि सहज पहुंच बनाउन माग गरे । चीनको केरुङ् र खासा नाका जानका लागि व्यवसायीहरुलाई प्रवेश पासको व्यवस्था गरिनु पर्ने उनको माग थियो ।
सामान आयत गर्दा हालको भन्सार दरभाउ घटाउनु पर्ने महासंघले जनाएको छ । त्यस्तै आयकरमा, प्रोप्राइटर सीपलाई प्रान कम्पनी सरह २५ प्रतिशत नै कायम गरिनु पर्ने, घर बहाल कर ५ प्रतिशत कायम गरिनु पर्ने लगायतका माग समेत महासंघले राखेको छ ।
तपाईको बिचार