एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेसन आगामी माघ २६ र २७ मा पोखरामा हुने

एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेसन आगामी माघ २६ र २७ मा पोखरामा हुने

585

काठमाण्डौं ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकीको प्रथम अधिवेशन आगामी माघ २६ र २७ गते पोखरामा हुने भएको छ। 

अधिवेशन सम्पन्न गर्न सो पार्टीका केन्द्रिय सचिव एवं गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ। अधिवेशन भव्य रुपमा सम्पन्न गर्न मूल आयोजक समितिका अलावा विभिन्न ११ वटा उपसमितिहरू गठन गरिएको नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका सचिव श्रीनाथ बरालले बताए।

यसरी गठन गरिएका उप समितिहरूमा श्रीनाथ बरालको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, पोलिटब्युरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जन परिचालन उप समिति, केन्द्रिय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप समिति, केन्द्रिय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उप समिति रहेका छन्। 

त्यसै गरी केन्द्रीय सदस्य शर्मिला देवी पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, नवराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, खड्ग हमालको संयोजकत्वमा खाना खाजा व्यवस्थापन उपसमिति, उदय सुवेदीको संयोजकत्वमा निर्वाचन उप समिति, मुक्ति पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उप समिति , ठाकुर शर्माको संयोजकत्वमा स्वयंसेवक परिचालन उप समिति र पूर्ण लामाको संयोजकत्वमा सांस्कृतिक उप समिति गठन गरिएको बरालले जानकारी दिए।

प्रदेश अधिवेशनका लागि ५० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको र प्रतिनिधि छनौट माघ १६ गते हुने बरालले जानकारी दिए। अधिवेशन पोखरा सभागृहमा हुने र अधिवेशनको उद्‌घाटन सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले गर्ने कार्यक्रम रहेको बरालले बताए। अधिवेशनमा करिव ४५० प्रतिनिधि सहभागि रहने बताईएको छ। 

यसअघि सो पार्टीको प्रदेश अधिवेशन पौष १९ र २० गते हुने भनिएको भएपनि माघ ६ गते सो पार्टीका गण्डकी प्रदेशमा रहेका पदाधिकारी, पोलिटब्युरो सदस्य र केन्द्रिय कमिटीका सदस्यहरूको बैठकले माघ २६ र २७ गते गर्ने गरी मिति संसोधन गरेको सचिव बरालले जानकारी दिए। प्रदेश अधिवेशन सम्पन्न गर्न पार्टीको सिङ्गो प्रदेश कमिटीका साथै विभिन्न उप समितिहरू जुटेको र अधिवेशनको तयारी तिव्र पारिएको समेत बरालले बताए।

तपाईको बिचार