काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट उत्साहजनक सफलता हासिल गरेको बताएका छन् ।
विज्ञप्तिमा उनले विभिन्न स्थानमा बनेका गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई आफ्नो पार्टीले उच्च सम्मान गर्ने बताएका छन् । यसबाट आफ्नो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको अध्यक्ष प्रचण्डले बताएका छन् ।
‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रुपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ’, उनले भनेका छन् ।
तपाईको बिचार