नेपालले आजबाट पहिलो पटक बङ्गलादेशलाई डलरमा विद्युत् बिक्री गर्दै, एकै दिन ३८ लाख वढी आम्दानी हुने

नेपालले आजबाट पहिलो पटक बङ्गलादेशलाई डलरमा विद्युत् बिक्री गर्दै, एकै दिन ३८ लाख वढी आम्दानी हुने

829

काठमाडौं नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बङ्गलादेश पठाउने  बाटो खुलेको हो  । 

भारतबाट स्वीकृति आएसँगै आज बङ्गलादेशलाई बिजुली बिक्री गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन् । ‘यस वर्षका लागि शुक्रबार एक दिन मात्र बिजुली बेच्छौं, राति १२ बजेसम्म मात्र बेच्ने हो,’ उनले भने ।

शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्नेछ । नेपालले डलरमा विद्युत् बिक्री गर्न लागेको पहिलो पटक हो । 

शुक्रबार दिउँसो १२.४५ बजे नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीद्वारा ‘भर्चुअल’ उद्घाटन गरी बिजुली पठाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । सोहि अनुसार नेपालले यस वर्ष शुक्रबार एक दिन मात्रै बङ्गलादेशलाई बिजुली बेच्दैछ । त्यसपछि बङ्गलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ । नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।

बङ्गलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुनेछ । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

गत असोज १७ मै नेपाल, भारत र बङ्गलादेशबीच ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भए पनि भारतको स्वीकृति नआएकाले ढिलाई भएको थियो ।
सम्झौता हुँदा यसैवर्ष एक दिन भए पनि बिजुली बिक्री गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए । सोहीअनुसार बिजुली बिक्री गर्न लागेको हो । ६ वर्षको गृहकार्यपछि भएको नेपाल र बङ्गलादेश विद्युत् बिक्री सम्झौता (पीएसए) कार्यान्वयनमा आउने भएको छ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बिक्री गर्ने जनाएको छ ।

भारतको बजारमा बिजुली बिक्री गर्न २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाले यसअघि नै स्वीकृति पाइसकेको छ ।  

तपाईको बिचार

सम्बन्धित खबर