आज विश्व मधुमेह दिवस, अल्छीपन त्याग्नुस्- नत्र मधुमेहले सताउला

आज विश्व मधुमेह दिवस, अल्छीपन त्याग्नुस्- नत्र मधुमेहले सताउला

653

काठमाडौँ । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस ।  ‘मधुमेह र स्वस्थ जीवन’   भन्ने नाराका साथ यो दिवस प्रत्यक वर्ष झै यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मधुमेह दिवस मनाइँदै छ ।

सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो । भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्त्वलाई यस वर्ष उजागर गरिँदै छ । स्मरण रहोस्, जीवनशैली र वंशाणुगत कारणले बर्सेनि विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेका छन् ।

मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनुपर्दैन । मधुमेहलाई रगतमा चिनीको मात्रा बढी हुने भएकाले सुगर वा चिनी रोग पनि भन्ने गरिन्छ । मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ।

शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुन सक्छ अनि मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ।

कसरी हुन्छ त मधुमेह ?

खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ। पेटनजिकै अवस्थित प्यान्क्रिअस अर्थात् अग्न्याशय भनिने एउटा ग्रन्थिले इन्सुलिन होर्मन उत्पादन गर्छ जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ। तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ। त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ।

के हुन् त मधुमेहका लक्षणहरू ?

तिर्खा बढी लाग्ने
नियमितभन्दा धेरै पिसाब लाग्ने, विशेष गरेर रातको समयमा
एकदमै गलेको महसुस हुने
प्रयास नगरीकनै तौल घट्ने
मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने
धमिलो देखिने
चोट र घाउ निको नहुने
रगतमा चिनीको मात्रा बढि हुने भएकाले मधुमेह रोगीले खानामा निकै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता सुगर रोगीले सिमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ ।
चिकित्सकहरुले अल्छीपन त्याग्न सुझाएका छन् उनीहरु भन्छन् अल्छीपन त्याग्नुस् नत्र मधुमेहले सताउला ।

दिवसको सन्दर्भमा गएको शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् । नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतनमूलक सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको हो । पछिल्लो समय नेपालमा मधुमेहको समस्या बढ्दै गएको छ ।

बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा रहेका डाक्टरले बताएका छन् । डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । मधुमेह हुनबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रुपमा क्रियाशील रहने नै रहेको चिकित्सकहरु बताउँछन् ।

तपाईको बिचार