पाठेघरको मुखको क्यान्सर जोखिम घटाउन १६ लाख किशोरीलाई ‘एचपीभी’ खोप दिइँदै

पाठेघरको मुखको क्यान्सर जोखिम घटाउन १६ लाख किशोरीलाई ‘एचपीभी’ खोप दिइँदै

655

 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् । खोप लगाउनेबारे मंगलबार मन्त्रिस्तरीय निर्णय भएको हो।

यो निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसरमा देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। अभियान १५ दिनसम्म चल्नेछ।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।

किशोरीहरूलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन किशोरीलक्षित निर्णय गरिएको मन्त्री पौडेलले बताए ।  मन्त्री पौडेलले विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा जर्मनीमासमेत विश्व स्वास्थ्य संगठनका महानिर्देशकलगायत अधिकारीहरूसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए।

ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।

एचपीभी खोप केवल पाठेघरको मुखको क्यान्सर मात्र होइन, एचपीभीबाट हुन सक्ने अन्य समस्याहरुबाट पनि बचाउँछ । एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ ।

तपाईको बिचार