काठमाडौं । अमेरिकाको सिनेटमा रिपब्लिकनले बहुमत पुर्याएको छ। जारी राष्ट्रपति चुनावको मतगणनामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प जितनजिक पुगेका हुन् ।
मंगलबार सकिएको मतदान पछि स्थानीय समयअनुसार बुधबार बिहान १ बजेदेखि मतगणना सुरू भएको थियो। सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बनेका उनी सन् २०२० मा डेमोक्रेटिकका जो बाइडनसँग पराजित भएका थिए । तर उनले तेस्रो पटकको प्रतिस्पर्धामा राष्ट्रपतिको कुर्सीमा फर्किने करिब निश्चित गरेका छन् ।
हालसम्मको मतगणनाबाट रिपब्लिकनले सिनेटमा बहुमत पुर्याइसकेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
अमेरिकाको ५० वटा राज्यबाट २-२ जना सिनेटर चुनिन्छन् । कुल १०० सिनेटरमध्ये रिपब्लिकनबाट ५१ जना सिनेटर चुनिने निश्चित भइसकेकाले यसपालि सिनेटमा रिपब्लिकनले सहज बहुमत प्राप्त गर्ने निश्चित भइसकेको छ।
रिपब्लिकनले आफ्ना सबै सिटहरू सुरक्षित गर्दै डेमोक्र्याटिकले जित्दै आएका पश्चिम भर्जिनिया र ओहियोबाट सिनेटर जितेसँगै अर्को वर्षदेखि सिनेटमा रिपब्लिकनको नियन्त्रण हुने निश्चित भएको समाचार संस्था रोयटर्सले लेखेको छ।
तपाईको बिचार