साफ महिला च्याम्पियनसिप: नेपाल- बंगलादेश भिड्दै, प्रधानमन्त्री पनि खेल हेर्न जाने

साफ महिला च्याम्पियनसिप: नेपाल- बंगलादेश भिड्दै, प्रधानमन्त्री पनि खेल हेर्न जाने

703

काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधिका लागि आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज साँझ साढे ६ बजे हुने दशरथ रंगशालामा हुने भएको हो । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने भएका छन् । उनले उपाधि विजेतालाई पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।

नेपालले भारतलाई पेनाल्टीमा ४-२ ले हराउँदै र बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दावी छ ।

नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

तपाईको बिचार