काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलरहरूलाई सडकबाट सत्ता फेर्न लागेको हो कि भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुन भनेका छन् ।
माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भएको दाबी गर्दै भ्रष्टाचार र विचौलियालाई जोगाउन बनेको केपी शर्मा ओली नेतृत्व सरकार आफैं कुहिएर झर्ने अवस्थामा पुगेको बताए ।
माओवादीले खबरदारीसभा राखेपछि सरकार ढल्दैछ भन्ने आतंक बढेको भन्दै उनले अझै भ्रष्टाचार र बेथितितिर नजान चेतावनी दिंदै भने माओवादी कुनै सत्ताको खेलमा छैन ।
सरकार ढालेको दोष आफूहरुलाई नदिन आग्रह गर्दै उनले भने, ‘हामीले खबरदारीसभा राख्नेबित्तिकै सत्तापक्षले सबैलाई एकै ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजेको, त्यसो गर्नु संविधानविरोधी हुन्छ भन्ने हो होल्ला गरे । मैले प्रतिनिधिसभामै भनेको थिएँ, तपाईंहरूको सरकार पूरै अवधि चलोस्, माओवादीले सरकार ढाल्ने खेलमा लाग्दैन भनेर । तपाईंहरू पूरै चलोस् ।’
माओवादी अहिले सत्ताको पक्षमा नरहेको प्रस्ट पार्दै प्रचण्डले अहिले कांग्रेस(एमालेसँग सहकार्य गरेर गल्ती गर्यौं भन्ने परेको सुनाए । उनले कसैसँग मिलेर फेरि माओवादी आउँछ कि भनेर टेन्सन नलिन पनि आग्रह गरे। फेरि एमाले फर्काउला र फेरि कांग्रेस फकाउला भनेर नसोच्नुस् ढुक्का हुनुस्, उनले भने, अब एक्लै लडिन्छ। जति आउँछ आउँछ।
तपाईको बिचार