आज नवरात्रको दोस्रो दिन- ब्रह्मचारिणी देवीको उपासना गरिँदै

आज नवरात्रको दोस्रो दिन- ब्रह्मचारिणी देवीको उपासना गरिँदै

839

काठमाडौं। नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।

देवी पुराणको ४५ औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ ।

दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू ।

देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

सेतो कपडा लागाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ ।

तपाईको बिचार