सार्वभौम अधिकार कमजोर बनाउने गरी हुने संविधान संशोधन अस्वीकार्य-अध्यक्ष नेपाल

सार्वभौम अधिकार कमजोर बनाउने गरी हुने संविधान संशोधन अस्वीकार्य-अध्यक्ष नेपाल

945

लेखनाथ सिकारू

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी हुने संविधान संशोधन अस्वीकार्य हुने बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा अध्यक्ष नेपालले जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानका कारण अहिलेको उपलब्धि हासिल भएको भन्दै जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् ।

मुलुकको राष्ट्रियता, अखण्डता र जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी संविधान संशोधन हुन नसक्ने उनको भनाइ छ । उनले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा दुई दलले मात्र सम्झौता गर्नुको पछि शंका गर्ने प्रसस्त ठाउँ रहेको बताए । ‘अहिले संविधान संशोधनको चर्चा चलेका छन् । संविधान संशोधन गर्न नसकिने होइन । तर मध्यरातमा दुई दललेमात्र त्यसमा सम्झौता गर्नुपर्ने आवश्यकता थिएन’, अध्यक्ष नेपालले भने, ‘यसबारेमा नियत र उद्देश्यमाथि प्रश्न खडा भएको छ ।’

त्यसबारेमा धेरै कुराहरु आइरहेका छन् । नियतमाथि प्रश्न खडा भएको छ । उद्देश्यमाथि प्रश्न खडा भएको छ । म त्यसमा धेरै प्रवेश गर्न चाहन्न ।
उनले राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको भन्दै कसैले आफूलाई बेवास्ता गरेमा त्यो स्वीकार्य नहुने बताए ।
उनले संविधान संशोधन प्रस्ताव सजिलै पास हुनसक्ने अवस्था समेत नरहेको भन्दै ‘राष्ट्रिय सभामा हामीलगायत केही पार्टीहरू एकताबद्ध भयौँ भने दुई तिहाइ पुग्नेवाला छैन’, नेपालको भनाइ थियो ।

उनले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको भन्दै राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरु हातेमालो गर्न तयार रहेको बताए । सामाजिक सञ्जामा अबदेखि पार्टीको हित विपरित जथाभावि नवोल्न र नलेख्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिंदै उनले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताए । पार्टीका नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारेका थिए ।

महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरङ्ग नै पैदा गरेको उनको भनाई थियो । उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको भन्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे ।

नेपालले राजनीतिक अस्थिरताका कारण नभई व्यक्तिवाद र भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको भन्दै बहुमत र दुई तिहाइ मत जनताले दिए पनि स्थिर सरकार बन्न नसकेको उदाहरण दिँदै कुशासन र व्यक्तिवादका कारण समस्या भइरहेको बताए । ‘राजनीतिक अस्थिरता मूल कारक होइन । भ्रष्टाचार, कुशासन र व्यक्तिवाद नै नेपालको राजनीतिको र शासन सञ्चालनको मुलकारण बनेको छ’, अध्यक्ष नेपालले भने, ‘जबसम्म भ्रष्टाचार र व्यक्तिवाद समाप्त हुँदैन तबसम्म कुराले केही हुनेवाला छैन ।’ मुलुकमा राजनीतिक अस्थिरताका कारण अहिलेको व्यवस्थाविरुद्ध अनेकौँ शक्तिहरु लागि परेकाले लोकतान्त्रिक शक्तिबीच समन्वय र एकताको आवश्यकता रहेको बताए ।
कम्युनिष्ट पार्टीमा विकृति विसंगति मौलाउँदै गएकाले त्यसैलाई सुधार्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले भ्रष्टाचार, व्यक्तिवाद, कुशासनको अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले नेताहरूमा देश बनाउने हुटहुटी चाहिने भन्दै त्यो हुटहुटी नभएमा हावादारी योजनाले मात्र केही प्रगति नहुने उनको तर्क थियो । सत्तामा जाने र जिम्मेवारी नलिने प्रवृत्र् िराजनीतिक पार्टीका नेता कार्यकर्तामा रहेकोले नेता कार्यकर्ताहरू पैसा कमाउन र भ्रष्टाचार गर्न नभई जनताको सेवामा समर्पित हुनुपर्ने बताए । पछिल्लो सयममा पार्टीप्रति आकर्षण बढेको भन्दै महाधिवेशनमा भएको गल्तीलाई स्वीकारेर एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आव्हान र आग्रह गरे ।

चुनावमा बाँडिएका चिटका विषयमा उनले भने कमजोरी गर्नेहरूले मम भनौं । त्यसलाई हामी प्रोत्साहन गर्न चाहँदैनौं । अध्यक्ष नेपालले पार्टीका उपमहासचिव मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताए ।

कार्यक्रममा सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल,वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे,उपाध्यक्ष बाग्मती इञ्चार्ज गंगालाल तुलाधर महासचिव घनश्याम भुसालले आफ्ना धारणा राखेका थिए । पार्टीका वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको बिचार