काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बेइमानी गर्ने कसैलाई पनि नछोड्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बजारको सुशासनमा देखिएको चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले चाडवाडको समयमा कालाबजारी गर्ने जो कोहीलाई सरकारले नछोड्ने बताएका हुन् ।
उनले सो कार्यक्रममा बोल्दै चाडबाडको बेलामा कालाबजारी गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउन ७७ वटै जिल्लाका सिडिओलाई कार्यक्रम मार्फत निर्देशनसमेत दिएका छन् ।
उनले कुनै पनि बहानामा मूल्यवृद्धि, यातायातमा अनावश्यक भाडा वृद्धि र खाद्य बस्तुमा मिसावट गर्ने जो कोहीलाई कारवाही गर्न नडराउन पनि निर्देशन दिए । अर्यालले जनतालाई सेवा दिने कुरामा बर्दी र पद नहेरी काम गर्न निर्देशन दिएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबजारी रोक्नका लागि सबै सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले बर्दी र पद नहेरी काम गर्न उनले निर्देशन दिएका हुन् ।
उनले चाडपर्वको समयमा राजनीतिक झोला छाडेर जनताको झोला बोक्न पनि आग्रह गरेका छन् । ‘खास गरेर चाडपर्वको समयमा जिम्मेवार पदाधिकारीहरूले राजनीतिक झोला छाडिदिनुहोस् । पद र बर्दी पनि बिर्सिदिनुहोस् , उनी भन्छन्, सबै कुरा बिर्सिएर जनताको लागि काम गरौं, जनताको सेवामा लाग्न म अनुरोध गर्छु ।
उनले भने – ‘ नेपालमा कानुन नभएको होइन, कानुन छ त्यसैले अब हामी यो समयमा कसले कति काम गर्यो भन्ने कुरा हेर्छौ । सोहीअनुसार उहाँहरूको मूल्यांकन हुन्छ । निर्धक भएर जनताको सेवामा खटिनुपर्यो यस विषयमामा कुनै प्रेसर र कार्वाहीको कुरा भयो भने मलाई रिपोर्टिङ गर्नुहोला ।’
‘चाडवार्ड नजिकिँदै छ । अब मानिसहर आफ्नो गन्तव्यमा जान्छन् । सडकमा खाल्डा खुल्डी छन् । विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएको छैन । म यहीबाट भन्न चहार्छु । सम्बन्धित निकायले तुरुन्तै यस विषयलाई सहजिकरण गर्नु पर्यो ।’ अर्यालले भने ।
कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले हरेक ठाउँको गतिविधि निरीक्षण र अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन गर्न थालेको बताएका छन् ।
नजिकिँदै गरेको चाडवार्डमा विभिन्न किसिमका लुटपाट, ठगी जस्ता कृयाकलाप हुने गरेको र त्यसलाई अनुगमन गर्न प्रहरी परिचालन गरिएको बताएका छन् । उनले भने – ‘चाडवाडको बेलामा जुवा तास खेल्ने, मादक पदार्थ सेवन, लागू औषध दुर्व्यसन, यातायातमा महिलालाई यौन जन्य हिंसा जस्ता कृयाकलाप हुने हुँदा हामि त्यसको निगरानी गर्छौं ।’ भन्सार छली, राजश्व छलीलगायतका विषयमा पनि प्रहरीले सुक्ष्म तरिकाले अनुगमन गरिरहेको बज्राचार्यले बताए । उनले राज्यका अंगलाई समुदाय तहबाट पनि सहयोग जरुरी भएको भन्दै सहकार्य र सम्वन्वयको आधारमा काम गर्नुपर्ने उनको भनाई थियो ।
नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देक कुमारी ज्योती जोसी (भट्ट) ले कुनै पनि बस्तु गुणस्तर नभएको लागे ‘कम्पेलन’ गर्न सकिने बताएकी छिन् । ‘हामिले सबै क्षेत्रमा गुणस्तरीय उत्पादनलाई जोड दिन्छौं । विभागले दिने गुणस्तर चिन्हलाई हेरेर हामि अनुगमन गछौं । डोटीदेखि झापासम्म हाम्रो कार्यालय छ । जुनसुकै बेला तपाइहरुले ‘कम्पेलन’ गर्न सक्नु हुन्छ ।’ उनले भनिन् ।
बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले चाडवाडमा मात्र नभएर १२ महिना अनुगमन गरिरहेको बताएका छन् ।
विभागको कार्ययोजनामा आधारित भएर आफुहरुले अनुगमन गर्ने पनि उनले बताए । खराव, गुणस्तरहिन बस्तु उत्पादन गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने उनले बताए ।
नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डित, यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, लगायतले धारणा राखेका थिए ।
तराई विकास तथा सञ्चार केन्द्र, नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंको अध्यक्षता भएको कार्यक्रममा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र ललितपुर प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गुणस्तर खाद्य बिभागका महानिर्देशक औषधि बिभागका महानिर्देशक, सरकारी निकायका महानिर्देशकहरु, सडक बिभागका महानिर्देशक रामहरि पोख्रेल उपमाहानिर्देशक चुडाराज ढकाल, दुग्ध बिकास सस्थान, खाद्य व्यावस्थापन कम्पनीका सिइओ, साल्ट टेडिङ कर्पोरेसन लिमिटेडका ब्रजेस झा लगायतको उपस्थिति थियो ।
तपाईको बिचार