काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोट र २ जनाको ज्यान गएको बारे सरकारले सदनलाई जानकारी गराएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै बर्तौलाले गृहमन्त्री रमेश लेखकले सदनमा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताए ।
उनले भने‚‘ केही समय अघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा २ जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाका दोषी को हो यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ । विशेष गरेर गृहमन्त्रीले जानकारी गराउनुपर्छ ।’ उनले सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।
भदौ १३ गते बिहीबार दिउँसो स्थानीय आइतराज केरुङको घरमा विस्फोट हुँदा स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाइ वर्षीया छोरी प्रिन्सा साँवाको निधन भएको थियो । स्थानीय ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र दिपक राईका छोरा दिप्सन घाइते छन् । उनीहरुको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको बिचार