टेकुको ऋषेश्वर मन्दिरमा भक्तजनहरुको घुइचो

टेकुको ऋषेश्वर मन्दिरमा भक्तजनहरुको घुइचो

731

काठमाडौँ, २३ भदौ । टेकुको ऋषेश्वर मन्दिरमा ऋषि पञ्चमीका लागि महिला भक्तजनहरुको घुइचो लागेको छ ।

प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजा गर्न
मेला लाग्ने मन्दिरमा काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजनहरुको भीड लागेको हो ।

नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने स्नान गरी अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा गर्ने प्रचलन छ। यसरी पूजा गर्नाले मनोकांक्षा पूरा भएर पारिवारिक शुख, शान्ति तथा पुण्य संचय हुने विश्वास छ।

काठमाडौँ महानगरपालिका–१२ वडाले गएराति १२ बजेदेखि नै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरेको हो। महिला भक्तजनको सुरक्षा,भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्काउट, स्वयंसेवकको टोलि खटिएका छन्।

महानगरपालिका–१२ वडाले मेलालाई व्यवस्थित गर्न मन्दिरमा सरसफाइ, रङरोगन, सडक बत्तीको प्रवन्ध लगायत कार्य सम्पन्न गरेको जनाएको छ ।

महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले
तीजमा व्रत बसेका महिलाले मन्दिरमा छिट्टो, छरितो र सहज दर्शनका गर्ने व्यवस्था गरिएको साथै अशक्त तथा वृद्धवृद्धालाई लाइन बस्न नपर्ने गरी मन्दिरमा दर्शनको प्रवन्ध मिलाइएको जानकारी दिनुभयो।

मन्दिर परिसरमा ब्राह्मणद्वारा पञ्चमीको पूजा गराउने तथा दान, दक्षिणा गर्ने महिलाको उल्लेख्य संख्यामा सहभागिता छ ।
मन्दिरमा दर्शनका लागि आउनुभएकी समाजसेवी संगीता खत्रीले व्यवस्थापन राम्रो रहेकाले सहजै दर्शन गर्न पाएको बताउनुभयो।
त्यस्तै रेडक्रस, विभिन्न सामाजिक तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधिले भक्तजनलाई आवश्यक सहयोग गरेका छ्न् । प्रारम्भिक स्वास्थ्य जाँच सम्बन्धी शिविरको व्यवस्था गरिएको छ।

मन्दिर परिसर बाहिरी भागमा त्यहाँ आउने भक्तजन आकस्मिक बिरामी भएमा उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिएको छ।

मन्दिर आसपासमा संचालन हुने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएकाले टेकुदेखि कुलेश्वर र सानेपा निस्कने सवारी साधनलाई आवतजावत गर्न निषेध गरिएको छ । मन्दिर परिसर बाहिर भक्तजनले आ आफ्नो समुह बनाएर गित गाएको, नाँचगान गरेको दृश्य देख्न सकिन्छ।

तपाईको बिचार

सम्बन्धित खबर