नेतृत्वले मनलाग्दी गरेपछि एकीकृत समाजवादीमा चुलियो आक्रोश 

नेतृत्वले मनलाग्दी गरेपछि एकीकृत समाजवादीमा चुलियो आक्रोश 

1329

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य चयन प्रक्रियालाई लिएर  कार्यकर्तामा आक्रोश चुलिएको छ । नीति ,विधि र थिति विपरीत टीके केन्द्रीय सदस्यको बाहुल्य भएको बताइन्छ ।

अधिवेशनअघि पार्टीले महाधिवेशन प्रतिनिधि भूगोलबाट चयन हुनुपर्ने नीति बनाएको थियो । तर उक्त विधिबाट आफू निकट नेता तथा कार्यकर्ता प्रतिनिधि नबन्ने भएपछि केन्द्रीय नेतृत्वले रातारात सबै केन्द्रीय सदस्य स्वतः प्रतिनिधि हुने घोषणा गरेको उनीहरूको आरोप छ । पहिले एक सय ९९ सदस्यीय भनिएको केन्द्रीय समिति विना आधार २९९ हुँदै ३४४ बनाइयो ।

तर जारी अन्तरपार्टी निर्देशिकामा ३४१ उल्लेख छ । कार्यकर्ताको आक्रोश नथामिएपछि पुनः ५ प्रतिशत थप्ने आश्वासन दिइएको छ । क्रमशः थपिएको केन्द्रीय समिति सदस्य संख्या पार्टी विधान विपरीत भएको आरोप पनि सँगै लागेको छ ।

केही समयअघि पार्टी प्रवेश गरेका झापाका वासु दुलालले अधिवेशन पछिको गतिविधि र व्यवहार देखेर चकित भएको अनुभव सुनाए । दुलाल पार्टीमा नेकपा माओवादीको एउटा समूहलाई समायोजन गराउने  संयोजक हुन् ।

भन्छन्, ‘शीर्ष नेताले फोन र म्यासेजबाट केन्द्रीय सदस्य भएकोमा बधाई दिनुभयो । पछि आफू केन्द्रीय सदस्यमा नअटाएको भन्दै उनै नेताले पठाएको म्यासेज मसँग सुरक्षित छ ।’ यस्तो प्रवृत्ति र कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै भन्छन्, ‘यो पाराले कसरी कम्युनिष्ट पार्टी बन्छ ?’ यसले पार्टी समायोजनमा सहभागी तमाम कार्यकर्तालाई निराश बनाएको उनको बुझाई छ ।

काठमाडौंकी सीता श्रेष्ठले स्वयम् अध्यक्ष माधवकुमार नेपालले आफूसँग हातै मिलाएर केन्द्रीय सदस्य भएकोमा बधाई दिनुभएको बताइन् । पार्टी समायोजनबाट आएकी उनको पनि पछि लिस्टमा नाम फेला परेन । विभिन्न मितिमा दर्जन बढी पार्टी र समूहका सयौँ नेता कार्यकर्ता एकीकृत समाजवादीमा समायोजन भएका थिए । तर समायोजन प्रक्रियाबाट आएका नेता कार्यकर्तालाई छानेर विभेद गरेको उनीहरूको बुझाई छ ।

आलोक रायमाझी पनि सन्तुष्ट देखिँदैनन् । अध्यक्ष नेपालको निवासमा पुगेर असन्तुष्टि जनाएका रायमाझी यसअघि समायोजन प्रक्रियाबाट आएका नेता कार्यकर्ताको फोन र म्यासेज उठाउन नै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

नाम नबताउने शर्तमा एक जना नेता भन्छन्, ‘नेताका परिवारदेखि मन्त्रालयमा रहँदा सेटिङमा सहभागी पिएसम्म केन्द्रीय समितिमा अटाए । खर्चको जोहो गर्नेदेखि साथीसंगी कोही पनि छुटेनन् । तर भूगोलमा काम गर्ने कार्यकर्ताहरु निराश भए।’

सिन्धुलीका तिर्थ दाहाल पनि पार्टीको पछिल्लो गतिविधिदेखि सन्तुष्ट छैनन् । काम गर्ने कार्यकर्ताहरुलाई पाखा लगाएर मनलाग्दीलाई केन्द्रिय सदस्य बनाएर पार्टीको उचाई घटाएको उनको आरोप छ ।

उनका अनुसार पछिल्लो आमनिर्वाचनमा पार्टीलाई मतदान गर्न आफ्नो भूगोलसम्म नपुगेकामध्ये केहीबाहेक एक सय २२ केन्द्रीय सदस्य फेरि पनि दोहोरिएका छन् । उनका अनुसार थपिएका केन्द्रीय सदस्य पनि बिहान र बेलुका कोटेश्वर र डल्लु पुग्नेहरु अधिक हुन् । नेताका वरपर घुम्नेमात्रै अधिक संख्यामा केन्द्रीय सदस्य बनेपछि पार्टी बनाउनभन्दा नेता रिझाउन सूची बनाइएको गम्भीर आरोप लगाइएको छ ।

असारमा महाधिवेशन सकिएकै दिन काठमाडौंका कुसुमकुमार कार्कीले पार्टी त्यागेको घोषणा गरेका थिए । ध्रुवराज न्यौपानेसहित क्षेत्र नम्बर ४ का मुख्य नेताले आफूहरु पनि पार्टीमा नरहने जानकारी दिइसकेका छन् । कार्की ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित तर ०७९ मा थोरै मतले पराजित भएका थिए ।

न्यौपानेलाई युवा र खेलकुद क्षेत्रका प्रभावशाली नेता मानिन्छ । पार्टीमा काठमाण्डौमा नेवारी समुदायको प्रतिनिधित्व गर्ने पूर्वकेन्द्रीय सदस्य सीता श्रेष्ठसहित ठूलो समूह असन्तुष्ट देखिन्छ । पार्टी निकट भनिएका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती एमाले प्रवेश गरिसकेका छन् ।

दलित फाँटमा पनि चर्को असन्तुष्टि देखिन्छ । उदयपुरका सरोजदिलु विश्वकर्मा,मुस्ताङमा पार्टी अध्यक्ष रहेका भीम रसाइलीको नाम हटाएर अरु जिल्लाका गैरदलितलाई केन्द्रीय सदस्य बनाइएपछि उनीहरु आक्रोशित भएका हुन् । दलित समुदायबाट १६ जना केन्द्रीय सदस्य बनाउँदा रवीन्द्र बैठाबाहेक अरु मधेसी दलित परेको देखिँदैन ।

यसबीच राष्ट्रियसभा उपाध्यक्ष भइसकेका दलित समुदायका नेता रामप्रित पासवानले पार्टी परित्याग गरेका छन् । त्यस्तै रामअवतार पासवान,श्री पासवान र सुन्दर विकले महाधिवेशन अगावै पार्टी छाडेका थिए । त्यसपछि रिक्त स्थानमा पहाडे दलितलाई केन्द्रीय सदस्य बनाइएको आरोप छ ।

कोशी प्रदेशले जनजाति क्लस्टरमा कमल जवेगु र खुल्ला तर्फबाट प्रेम रिजालसहितका नेताको नाम सिफारिस गरेको थियो । तर केन्द्रमा मनोमानी गरिएको पार्टीका कोशी समिति अध्यक्ष बलदेव चौधरी बताउँछन् । पार्टी बैठकमा प्रदेशको असन्तुष्टि पोख्दै चौधरी बाहिरिएका थिए ।

जिल्ला र प्रदेशबाट सर्वसम्मत सिफारिस गरिएका नाममा केन्द्रले बेवास्ता गरेको आरोप पाँचथर काठमाण्डौ सम्पर्क मञ्चको पनि छ । मञ्चले एक पटक शीर्ष नेताहरुलाई भेटेर वास्तविकता जाहेर गरेपछि अघि बढ्ने निर्णय गरेको बताइन्छ ।

नेता भक्तिमान सम्बाहाम्फे र सम्पर्क विशेष प्रदेशका सचिव केशर अधिकारीमार्फत् पार्टी अध्यक्ष, सम्मानित नेता र महासचिवसँग भेटका लागि समय मागेको एक हप्ता नाघिसक्दा पनि समय नपाएकोमा सम्पर्क मञ्चका अध्यक्षले गुनासो गरेका छन् ।

आफ्ना मागबारे उचित सुनुवाई नभए पाँचथर सम्पर्क मञ्चका अध्यक्ष विक्रम भट्टराई,सचिव रमेश पौडेल, पूर्वअध्यक्ष गंगा रिजालसहित सिंगो सम्पर्क मञ्च,कोशी सम्पर्क मञ्चका उपाध्यक्ष देवीप्रसाद रिजाललगायतले उचित निर्णय गर्न बाध्य बताएको बुझिएको छ ।

उता ओखलढुंगामा समायोजन प्रक्रियाबाट आएका अमृत सागरलाई जिल्ला कमिटीले नै लेटर हेडमा लेखेर केन्द्रीय सदस्य नबनाउन अनुरोध गरेको थियो । उक्त घटनापछि ओखलढुँगा काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष काजी थापासहितको टोली लगभग निस्क्रिय बसेको छ ।

बारा जिल्लाका पुराना कम्युनिष्ट नेता बतहु राय यादवले पनि बेवास्ता भएपछि अध्यक्ष माधवकुमार नेपालसँग भेटेर आफ्नो धारणा स्पष्टसँग राखेको बुझिएको छ । केन्द्रीय सदस्यमा किसान,महिला, मजदुरसहित विवादै विवादमा रुमल्लिएका युवा र विद्यार्थी संगठनबाट धेरै जना परेका छन् ।

तर पार्टी निकट कानुन व्यवसायीहरु,पार्टी प्रचारको अभिन्न अंगको रुपमा रहेका पत्रकारहरु र जनसांस्कृतिक कलाकर्मीहरुको संगठनसहितका पेशागत संगठनबाट प्रतिनिधित्व शून्य गराइएको छ ।

समाजवादी प्रेस संगठनका संस्थापक अध्यक्ष तथा पार्टी प्रचार विभागका सहइञ्चार्ज शम्भु श्रेष्ठ, कानुन व्यवसायीहरुको संगठन एसपिएलएका अध्यक्ष डेकेन्द्र सुवेदी,जनसांस्कृतिक महासंघका अध्यक्ष कृपाराम धमला,इञ्चार्ज उदय श्रेष्ठ,प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी,सहकारी संगठनका अध्यक्ष नवराज अर्यालले पार्टी अध्यक्ष नेपालसँग भेटेरै असन्तुष्टि राखेको स्रोतको दाबी छ ।

महिलातर्फ पनि अनेमसंघले सिफारिस गरेका थुप्रै नाम काटिएको बताइन्छ । झापाकी सविता भेट्वालदेखि दार्चुलाकी रुकमति जागरीको नाममा स्वयम् जिल्ला कमिटी नै असन्तुष्ट देखिन्छ ।

सुदूरपश्चिम प्रदेश इञ्चार्ज गरिमा शाहसहित अनेमसंघले गरेको सिफारिसमा राधिका अवस्थी र गण्डकी प्रदेशबाट रेखा लोप्चनको नाम काटियो । तर दार्चुलाकी जागरी सहित नेताहरुको खल्तीबाट निकालिएका नाम केन्द्रीय सदस्य बनेपछि असन्तुष्टि चुलिएको छ । दार्चुलाबाटै केन्द्रीय सदस्य बनेका परमाराम ओड पनि सन्तुष्ट देखिँदैनन् । जागरीको केन्द्रीय सदस्य नियुक्तिमा जिल्लाको सम्पूर्ण नेतृत्वले पार्टी शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराइसकेको छ ।

पार्टीका गतिविधिसँग असहमति जनाउँदै महाधिवेशनमा समेत सहभागी नभएका सांसद प्रेम आले समेत पार्टीको केन्द्रिय सदस्य छैनन् । पार्टीले आलेलाई केन्द्रीय सदस्य नवनाई सुखै छैन । त्यसैगरी जिल्ला सम्वन्वय समिति काभे्रका प्रमुख पूर्व विद्यार्थी नेता दीपक गौतम सहित वसन्त वस्तेत दिपक जिएमहरु समेत पार्टीको केन्द्रिय सदस्य नवनाईदा असन्तुष्टि चुलिएको छ ।

मोरङकी जुनु पोखरेलले सिफारिस विपरित केन्द्रीय सदस्य बनाइएका कारण भूगोलमा काम गर्नसक्ने अवस्था नरहेको बताइन् । उता सम्भावना बलियो देखेपछि बाँकेबाट करिश्मा योगीलाई प्रतिनिधिमा आउनैबाट रोकिएको थियो ।

चर्को असन्तुष्टि बढेपछि जिल्ला, प्रदेशसहित भूगोलका नेताहरुले नेतृत्वलाई सच्चिन सल्लाह दिएको बताइन्छ ।  पार्टीले केन्द्रीय परिषदको निर्णयलाई लत्याउँदै सचिवालयका नाममा मनलाग्दी निर्णय गरेको असन्तुष्टहरुको भनाई छ ।

तपाईको बिचार