भक्तपुर गट्ठाघर दुर्घटना : ट्राफिक प्रहरीप्रति किन आक्रोशित भए जनता ? 

भक्तपुर गट्ठाघर दुर्घटना : ट्राफिक प्रहरीप्रति किन आक्रोशित भए जनता ? 

1121

मिलन उपाध्याय

भक्तपुर । बिहीवार भक्तपुरको गट्ठाघर चौक एकाएक तनावग्रस्त भयो कारण थियो  दिउँसो १: ४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु ।

 दुर्घटनापछि दिउँसो भक्तपुर-कोटेश्वर सडकखण्ड र सानोठिमी-जडीबुटी-पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो । घटना लगतै  स्थानीय , बटुवा लगायत करिव २ हजारको हाराहारीमा जनताको आक्रोशित भिड एकाएक सडकमा देखियो । घटनास्थलमा जम्मा भएको आक्रोशित भीडले ट्रकमा ढुङ्गामुढा गरेर गठ्ठाघर चोकको ट्राफिक आइल्याण्ड समेत तोडफोड गरेको थियो ।

आक्रोशित भीडले घटनास्थलमा रहेका एक ट्राफिक प्रहरीमाथि हातपातसमेत गरेका थिए । कुटाई खाने ट्राफिक प्रहरी  दुर्घटना भएपछि दौडिएर घटनास्थल जाँदा भिडले उल्टै ट्राफिकमाथि आक्रमण गरेको बताईएको छ । सामाजिक संजालमा देखिएको भिडियोमा भिडले ट्राफिक जवानलाई लछारपछार पार्दै , उनले लगाएको बर्दी समेत च्यातिदिएको देखिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घट्नामा प्रहरी परिसर भक्तपुरका प्रमुख प्र. उ. वेद बिष्ट , सहायक हवल्दार बहादुर राउत र एक जना सौगात सापकोटा घाईते भएको जनाएको छ ।  

प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए । ट्राफिक प्रहरीले प्रायः सधैं चेकिङ गर्ने ‘चेक-प्वाइन्ट’ नजिकै दुर्घटना भएको थियो ।  

स्थानीयले ट्राफिक प्रहरीले असुरक्षित तवरले सवारी जाँच गर्दा दुर्घटना भएको आरोप लगाएका छन् । स्थानीय प्रत्यक्षदर्शीको दाबीअनुसार ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटार तर्फबाट थिमितर्फ गइरहेको ट्रकले ठक्कर दिएर करिब पचास मिटर परसम्म घिसारेको थियो ।

गठ्ठाघर निवासी एक स्थानीयका अनुसार उनी घर फर्कँदा सडकमा ट्राफिक चेकिङ गरिरहेको उनैले देखेका थिए । ‘त्यहाँ सधैं ट्राफिकले असुरक्षित रूपमा चेकिङ गर्छ, त्यहाँ चेकिङमा बसेपछि सिधा आइरहेका चेकिङमा नरोकिएका सवारीसाधनले त्यसलाई छल्न लेन चेन्ज गर्नुपर्छ,’ उनले भने, ‘त्यति ठूलो हाइवेमा सवारीले लेन चेन्ज गर्नुपर्ने गरी सधैं चेकिङ गर्नु पनि कहीँ ठीक हुन्छ त ?’

 त्यस्तै अर्का स्थानका अनुसार यो बाटोमा ट्राफिकको अत्यधिक चेकिङ हुने गर्छ ।  पेसाले पत्रकार समेत रहेका उनले ट्राफिकहरूले बिहान ५ बजे देखि दिनकाे ४/५ पटक लुकेर र खेदि खेदि चिट काट्ने गरेकोलेपनि  दुर्घटनाको जोखिम बढ्नुको साथै जनता आक्रोशित भएको हुनसक्ने बताए ।

तर ट्राफिक प्रहरीले चेकिङ्गमा दुर्घटना भएको भन्ने कुरा गलत भएको बताएको छ । ट्राफिक प्रहरीले सधैँ चेकिङ गर्ने स्थानमा दुर्घटना भएकाले धेरैले त्यसलाई चेकिङसँग जोडिएको तर दुवै सवारीसाधनलाई ट्राफिकले चेकिङका लागि नरोकिएको जनाएको छ । भक्तपुरका प्र. उ. वेद  विष्टले पनि दुर्घटनामा परेका स्कुटर तथा ट्रक दुबै बिहीबार चेकजाँचमा नपरेको बताए । ट्राफिकले गति नापेको थाहा पाएर ट्रकले एक्कासी गति घटाउँदा स्कुटर अनियन्त्रित भएर ट्रकमुनि छिरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे सीसीटीभी फुटेज हेरेपछि मात्रै आधिकारिक पुष्टि हुनेछ एसपी विष्टले बताए ।

बिहिबारको घट्ना वीभत्स प्रकृतिको दुर्घटना भएकाले मानिसहरू आक्रोशित भएर प्रहरीमाथि दोषारोपणमा उत्रिएका मात्र हुन्, त्यसमा सत्यता नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी किरण बज्राचार्यले बताईन् । उनले घट्नाको अनुसन्धान भैरहेको जानकारी दिईन् ।

बिहीवार दिउँसो १: ४० बाट तनावग्रस्त बनेको गट्ठाघरमा जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंका गरि करिब २५० प्रहरी टोली र सशस्त्र प्रहरी बलको १२० जनाको टोली समेत परिचालन गरिएको थियो । प्रहरीले भिड नियन्त्रण गर्न २२ राउन्ड अश्रुग्यास फायर गरेको थियो । साँझ अबेर मात्र गठ्ठाघर क्षेत्र सामान्य बनेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर