राजनीतिक दल भनेको एक संगठन हो जुन साझा विचारधारा, उद्देश्य, र नीतिहरूसँग मिल्ने व्यक्तिहरूको समूह हो। यस दलको प्राथमिक उद्देश्य सत्ता प्राप्ति र शासनमा प्रभाव कायम गर्नु हो।
राजनीतिक दलहरूले चुनावमा भाग लिन्छन्, जनताको प्रतिनिधित्व गर्छन्, र शासन गर्ने नीतिहरू र कार्यक्रमहरूको विकास गर्छन्। समग्र रुपमा राजनीतिक दलहरुले समाजको राजनीतिक व्यवस्थापन र विकासमा महत्वपूर्ण भूमिका खेल्दछन् र खेल्नुपर्छ ।
नेपालको सन्दर्भमा नेपालका सबैजसो मूलधारका राजनीतिक दल लामो समयसम्मको आन्दोलन, संघर्ष र बलिदानीबाट यहाँसम्म आइपुगेका हुन् । अहिलेको लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि विशेषगरी नेपाली कांग्रेस, कम्युनिस्ट पार्टी र तिनका नेतृत्वले निकै ठूलो बलिदानी दिएका छन् । निरङ्कुश सत्ताविरोधी राजनीतिक संघर्षकै क्रममा हजारौं योद्धाले तिनै पार्टीमा आबद्ध भएर जीवनको आहुति दिएका छन् । उत्तरी र दक्षिणी छिमेकीको तुलनामा नेपालमा धेरै पटक राजनीतिक व्यवस्था परिवर्तनका लागि संघर्ष भएका छन् ।
यसरी जनसंघर्षबाट रूपान्तरित सत्ताको मुख्य बागडोर तिनै पार्टी र नेतृत्वले सम्हालेका छन् । तर, राजनीतिक सत्ता प्राप्तिसँगै ती पार्टीको सत्ताबाट विगतका आन्दोलनकारी मात्रै छुटेका छैनन्, उनीहरूका एजेन्डा र सपना पनि छुटेका छन् । न्यायका लागि संघर्ष गरेका संघर्षशील जनता सत्ता नेतृत्वबाटै अन्यायमा परेको महसुस गर्न बाध्य छन्, अर्थात् विगतको न्यायको संघर्ष आफैंमा अन्यायको सिकार हुन पुगेको छ । सत्ता आरोहणसँगै ती पार्टीबाट जनता र उनीहरूका गम्भीर सरोकार गायब भएका छन् ।
संघर्षका वास्तविक योद्धा गुमनाम छन् । प्रायजसो सत्ता, पद र प्रतिष्ठामा छ त केवल चाटुकदार राजनीतिक खेलाडीको समूह । अर्कातिर, ऐतिहासिक जनसंघर्षविरोधी वा राज्यको रूपान्तरणमा कुनै भूमिका नखेलेका राजनीतिक शक्तिको लोकरिझ्याइँ बढ्दो छ । संघर्षबाट प्राप्त संघीयता, धर्मनिरपेक्षता र समावेशीकरणको विरोधमा लागेका प्रतिगामी राजनीतिक शक्ति मौलाउँदै गइरहेका छन् । संघर्षबाट व्यवस्था परिवर्तन गर्ने राजनीतिक शक्ति धराशायी र कमजोर हुने, लोकप्रियतावादी शक्ति बलियो हुँदै जाने अवस्था बढ्दै छ ।
बैशाखको स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारले राम्रो पहिचान र स्थान बनाएको प्रस्टै छ । काठमाडौं महानगरपालिकामा बालेन्द्र साह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्गको उदयसँगै स्वतन्त्रतर्फ धेरैको आर्कषण बढेको अनुमान लगाउन सकिन्छ ।
त्यस्तै रवि लामिछानेले स्थानिय निर्वाचनमा उदाएका स्वतन्त्र उमेद्वार बिजय भएको मौकामा चौका हानेका छन् । स्वतन्त्रहरुको विजय यात्रापछि उनले आफ्नो पार्टीको नाम नै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखे । केही स्वतन्त्र उम्मेदवारलाई भेला गराएर आफ्नो पार्टीको नाम घोषणा गरे । उनको पार्टीबाट उठेका उम्मेदवारले सरकारका शक्तिशाली बहालवाला मन्त्रीलाई समेत हराएर विजयी भए । यसका कारण यदाकदा राजनीतिक दलहरुको विकल्पमा निर्दलिएता / दलविहिनताका कुराहरुहरु उठ्न थालेका हुन सक्छन् । यसलाई गएको स्थानिय तहको निर्वाचन र आम निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत मलजल गरेको मान्न सकिन्छ ।
तर, कुनै समय राजनीतिक दलहरुले जनभावनालाई नसमेटेको अथवा नजर अन्दाज गरेको जस्तो देखियो भनेर दलहरुको विकल्पमा दल विहिनताको कल्पना गर्नु जायज हुदैन् । यो भनेको दलिय सिस्टम नै खराव हुनु अथवा राजनीतिक दलहरु असफल भएको भन्ने अर्थमा बुझ्नु अझ घातक हुनसक्छ । राजनीतिक दलहरूले जनभावना अनुसार काम गर्न नसक्ने अवस्था हुनुमा विभिन्न कारणहरु हुनसक्छन् ।
जस्तै: दलहरुको आन्तरिक विवाद र असहमतिले विभिन्न विचारधाराहरू, र व्यक्तिगत स्वार्थहरूले जनभावना अनुसार काम गर्नमा बाधा पुर्याउन सक्छ। स्रोतको कमीका कारण दलहरूलाई जनभावना अनुसार काम गर्नका लागि आवश्यक स्रोत, वित्तीय साधन, र आवश्यक जानकारीको कमी हुन सक्छ । अस्वीकृतता र विरोधले केही समय, दलहरूले जनभावनासँग असहमत हुने नीतिहरू अपनाउन सक्छन्, जसले जनतामा अस्वीकृति र विरोध ल्याउन सक्छ। सत्तामा रहनको दबावका कारण सत्तामा रहेका दलहरूले आफ्नो पद र सत्ता बचाइराख्नका लागि जनभावना र चासोहरूलाई प्राथमिकता दिनु मुश्किल हुन सक्छ । त्यस्तै समाजिक विभाजनले समाजमा विभिन्न जाति, वर्ग, र समूहहरूको भिन्नता र असमानता दलहरूको नीतिहरूलाई जनभावनासँग मिलाउन कठिन बनाउँछ , संविधान र कानूनी बाध्यताका कारणपनि संविधान र कानूनी सीमाहरूले दलहरूलाई निश्चित दिशा र नीतिहरूमा सीमित गर्न सक्छ, जसले जनभावना अनुसार काम गर्नमा अवरोध पुर्याउन सक्छ , जनसंख्याको विविधताले विविध जनसंख्या र भिन्न भिन्न चासोहरूको समन्वय गर्नु जटिल हुन सक्छ, जसले सबैको भावनालाई सम्बोधन गर्न कठिन बनाउँछ।
यी कारणहरूले गर्दा राजनीतिक दलहरूले जनभावना अनुसार पूर्ण रूपमा काम गर्न र सन्तुष्ट गर्न मुश्किल हुन सक्छ ।
त्यसोभए के गर्ने त ? के राजनीतिक दलहरुले जनभावना अनुसार काम गरेनन् भनेर विकल्पमा दलविहिनतामै जानुपर्छ हो त ?
होईन, राजनीतिक दलहरूले जनभावना अनुसार काम गर्दैनन् भने उनिहरुलाई विचिन्न किसिमले दवाव दिन सकिन्छ । जसले राजनीतिक दलहरूलाई जनभावना अनुसार काम गर्न प्रोत्साहित गर्न र जनताका चासोहरूको उचित प्रतिनिधित्व सुनिश्चित गर्न मद्दत गर्न सक्छ।
यसकालागी सार्वजनिक दबाब सिर्जना गर्न सकिन्छ जनताले आवाज उठाउने, प्रदर्शन गर्ने, र मिडिया मार्फत दबाब सिर्जना गर्न सकिन्छ। यसले दलहरूलाई जनभावना अनुसार नीतिहरू संशोधन गर्न प्रोत्साहित गर्न सक्छ। सार्वजनिक सहभागिता जनाएर जनताले निर्णय प्रक्रियामा सक्रिय रूपमा सहभागी भएर, जनभावनालाई प्रतिनिधित्व गर्ने गरी प्रक्रिया सुधार गर्न मद्दत गर्न सकिन्छ , चुनावमा भाग लिने योग्य र जनभावनासँग मेल खाने उम्मेदवारहरूको चयन र चुनावमा भाग लिनु महत्त्वपूर्ण छ। यसले नयाँ र जनमित्र दलहरूलाई सत्तामा ल्याउन मद्दत गर्न सक्छ , नागरिक समाजको सक्रियता विभिन्न गैरसरकारी संस्था (NGO), सामाजिक समूह र विचारमञ्चहरू मार्फत जनभावना र चासोहरूलाई राजनीतिक प्रक्रियामा समावेश गर्न दबाब दिन सकिन्छ । दलहरूले लागू गरेका नीतिहरू र कार्यक्रमहरूको निरन्तर समीक्षा र मूल्यांकन गरेर, तिनीहरूलाई जनभावना अनुसार सुधार गर्न प्रोत्साहित गर्न सकिन्छ , संविधान र कानूनी उपायहरू अपनाएर, संविधान र कानूनी प्रक्रियाहरूको प्रयोग गरेर, जनभावना र अधिकारहरूको संरक्षण र प्रवर्धन गर्नका लागि कानूनी कदमहरू उठाउन सकिन्छ , जन शिक्षा र जागरूकताका कार्यक्रमहरु गरेर जनतालाई आफ्ना अधिकार र कर्तव्यहरूको बारेमा शिक्षित गर्न र जागरूकता बढाउन, ताकि उनीहरू राजनीतिक प्रक्रियामा सशक्त रूपमा संलग्न हुन सकून् ।
यी उपायहरु अपनाएर भड्किएका राजनीतिक दलहरुलाई ट्याकमा ल्याउन सकिन्छ । तर राजनीतिक दलहरुले बाटो बिराए भनेर निर्दलियतमा जोडदिनु र दलविहिनता खोज्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु सरह हुनेछ । राजनीतिक दलहरूले बाटो बिराए भनेर निर्दलिय व्यवस्थामा जान खोज्नुले घातक परिणामहरू ल्याउन सक्छ ।
दल विहिनताले समाजमा सामाजिक अस्थिरता ल्याउन सक्छ , दलहरूको अभावले शासनमा अस्थिरता ल्याउन सक्छ। निर्दलिय व्यवस्था ल्याउने स्थिति समाजमा व्यापक असन्तोष र अस्थिरता पैदा गर्छ । निर्दलिय व्यवस्थामा नेतृत्व र निर्णय प्रक्रियामा स्पष्टता र संगठनको कमी हुन सक्छ, जसले निर्णय लिने प्रक्रिया असक्षम बनाउँछ , राजनीतिक दलहरूले विभिन्न वर्ग र चासोहरूको प्रतिनिधित्व गर्छन्। निर्दलिय व्यवस्थामा विभिन्न जनसमुदायको आवाज र आवश्यकता सही तरिकामा प्रतिनिधित्व हुन सक्दैन् , दलहरूको अभावले सामाजिक र राजनीतिक विवादहरू समाधान गर्न कठिनाइ ल्याउछ, जसले स्थिरता र समृद्धिमा बाधा पुर्याउँछ।
सामाजिक विभाजन र असमानता बढ्छ , दलहरू समाजमा समानता र समावेशिता बढाउने प्रयास गर्छन्। निर्दलिय व्यवस्थामा, सामाजिक विभाजन र असमानता बढ्छ । दल विहिनताले विकास र सुधारमा अवरोध सृजना हुन्छ , राजनीतिक दलहरूले विकास र सुधारका योजनाहरू अघि बढाउँथे भने निर्दलिय व्यवस्थामा, यी योजनाहरूको कार्यान्वयनमा अवरोध आउँछ । निर्दलिय व्यवस्थामा राजनीतिक प्रक्रियामा जनताको विश्वास घट्न सक्छ, जसले दीर्घकालीन स्थिरता र विकासमा चुनौती पुर्याउँछ ।
समग्रमा, राजनीतिक दलहरूको अभावले एक राष्ट्रमा शासन, प्रतिनिधित्व, र विकास प्रक्रियामा ठूलो असर पार्छ । दलहरूको अभावले एक राष्ट्रलाई स्थिरता, विकास, र सामाजिक समरसताको मार्गमा अगाडि बढ्न कठिनाइ पुर्याउँछ । त्यसैले अन्जानबस् वा व्याक्तिगत तुषका कारण निर्दलियता र दलविहिनताको डम्फु बजाउनु देश र जनताको हित प्रतिकुल रहेको सबैले बुझ्न आवश्यक छ ।
तपाईको बिचार