काठमाडौँ । पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन राष्ट्यि स्वतन्त्र पार्टी (रास्वापा) ले ‘क्लोज क्याम्प’ गर्दै छ । रास्वपाको प्रदेश समितिले शुक्रबारबाट सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा ‘क्लोज क्याम्प’ सुरु गरेको हो ।
सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी ‘क्लोज क्याम्प’मा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए। ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन्। उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गरेका छन्।
कार्यवहाक प्रवक्ता झाका अनुसार ‘क्लोज क्याम्प’मा विचार, सङ्गठन, अभियान, मूल्य-मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने छ। रास्वपा केन्द्रले विधान संशोधनको सुझावसमेत मागेकाले ‘क्लोज क्याम्प’मा त्यसबारे पनि छलफल भइरहेको छ।
रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरूका लागि काठमाडौँमा दुई दिने ‘क्लोज क्याम्प’ गरेको थियो।
तपाईको बिचार